इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी आज बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज बिहान २:३० बजे प्रस्थान भएका छन् । उनीहरूलाई लिएर जहाज बिहीबार नै बेलुकी ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। उनले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने बताए ।  त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताउनुभयो। मन्त्री किरातीले यसरी इजरायलबाट फर्किने विद्यार्थीको हवाई टिकट सरकारले बेहोर्ने निर्णय गरेको उनले जानकारी दिए ।

नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो। त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थी भने हमासको आक्रमणमा परी दिवङ्गत भएका थिए। उनीहरूको शव भने उक्त विमानमा नल्याइने भएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको बताए । उनले सरकारले चाँडोभन्दा चाँडो शव ल्याउन पहल गरिरहेको भन्दै बाध्यता बुझिदिन परिवारजनसँग आग्रह गरे । हराइरहेका कञ्चनपुरका विपिन जोशीको खोजी कार्यलाई तीव्रता दिएको उहाँले बताए ।

इजरायल सरकारले नेपाली विद्यार्थीको शव तत्काल हस्तान्तरण गर्ने अवस्था नदेखिएको मन्त्री किरातीले बताए । उनले भने, “इजरायल सरकारले शव हस्तान्तरण गर्ने अवस्था देखिएको छैन। यति धेरैको मृत्यु भएको छ। कतिपयको डिएनएसमेत परीक्षण गर्नुपर्ने अवस्था छ । त्यसैले त्यहाँबाट सबै प्रक्रिया पूरा गरी शव ल्याउन समय लाग्ने देखिएको छ ।”

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालले पनि मृतकको शव ल्याउन भने केही समय कुर्नुपर्ने अवस्था देखिएको बताए । उनले भने, “मैले मृतकका शव तत्काल ल्याउन निकै प्रयास गरेकी थिएँ। इजरायलका अधिकारीहरूले सबै प्रोटोकल मिलाएर मात्रै हस्तान्तरण गर्ने बताउनुभयो । त्यसो भएकाले शव ल्याउन समय लाग्ने देखियो ।”

प्रवक्ता लम्सालका अनुसार हाल इजरायलमा २६२ जना विद्यार्थीसहित चार हजार पाँच सय घरेलु श्रमिक कार्यरत छन्। नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना, सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका हुन्। यसरी सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी इजरायलको दक्षिणी क्षेत्र किबुजमा रहेका थिए । त्यसमध्ये १० जनाको निधन भएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।