बनेपा- काभ्रे जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेकाे बनेपा नगरपालिकाले शाखागत बार्षिक समीक्षा गरेको छ । २०७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनबाट मेयरमा निर्वाचित शान्ति रत्न शाक्य नेतृत्वको बनेपा सरकारले ल्याएको पहिलो बजेटको समीक्षाबाट शाखागत समीक्षाको थालिन गरिएको हो ।
साे कार्यक्रममा शाखा प्रमुखहरुले प्रगती प्रतिवेदन पेश गरेका थिए । यसअघिका वर्षहरुमा यस प्रकारको बार्षिक समीक्षा हुने गरेका थिएनन् । केही जनप्रतिनिधि र कर्मचारी मात्रै बसेर गर्दै आएकाे समीक्षा यो पटक भने पत्रकारहरुलाई साक्षी राखेर समिक्षा गरेकाे छ ।
समिक्षाा कार्यक्रममा नगर प्रमुख शान्ति रत्न शाक्यले नगरपालिकाको आमुल सुधारका लागि नीतीगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । ‘हामी काभ्रे जिल्लाको पहिलो नगरपालिका हौँ । हामीले धेरै कुरा गर्नु छ । हामीलाई एउटा कुशल प्रशासक चाहिएको थियो ।’ शाक्यले भने ‘अहिलेको प्रमुख प्रशासकीय अधिकृतबाट सुधारको सुरुवात भएको छ । नीतिगत रुपमा हामीले गर्नुपर्ने के–के हुन्, गर्न तयार छौँ । नगरपालिका सधै पहिलेकै जसरी चल्न सक्दैन । चल्न दिनु हुँदैन । किन भने हामी नयाँ ब्यक्ति आएका छौँ ।’
उपप्रमुख बिमला सापकोटा दाहालले नगरपालिकाले राम्रो काम गर्दा सबै नागरिकको शिर उच्च हुने भन्दै नगरपालिकाको समग्र विकासका लागि गरिने सबै प्रकारका गतिविधिमा साथ र सहयोग रहने बताए । ‘अहिले हामी नगरपालिकाको जिम्मेवार ठाउँमा छौँ । नगरबासीमा हामीले गर्ने सबै निर्णयको असर पर्छ ।’ उनले भने, ‘त्यसैले राम्रो कामका लागि गरिने सबै निर्णयहरुमा एकले अर्कोलाई साथ, सहयोग र समर्थन गर्दै अघि बढ्नुपर्छ । हामीले धेरै कुरा सुधार गर्न आवश्यक छ । साढे एक वर्ष बितिसक्यो, काम गर्ने दौरानमा कता के नमिले जस्तो आभाष भैरहेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत भाेलाप्रसाद चापागाईले कार्यक्रममा समस्या र समाधानका खाका प्रस्तुत गरेका थिए । शाखागत वार्षिक समीक्षाको एकीकृत प्रगति प्रतिवेदन सहित यही ३० गते सार्वजनिक सुनुवाईको आयोजना गरिने उनले जानकारी दिए । त्यो दिन नगरपालिकाको एकीकृत प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । ‘बढी भन्दा बढी नगरबासीको सहभागितामा हामी सार्वजनिक सुनुवाई गर्छौ । नगरबासीको सुझाव सुन्छौँ । कार्यान्वयनका लागि गर्नुपर्ने काम थालनी गर्छौँ ।’ उनले बताए ।
वडा नम्बर १४ का वडा अध्यक्ष राम बहादुर कुँवरले बार्षिक समीक्षा अहिलेसम्म आफुले नसुनेको बताए । ‘थुप्रै कार्यकारी प्रमुख फेरिएपनि यस्तो समिक्षा भएन । म दोस्रो कार्यकालका लागि निर्वाचित भएको हुँ । अहिलेसम्म यो खालको समीक्षा भएको जानकारीमा छैन् । अब चाहिँ सुधारको केही आशा पलाएको छ ।’ वडा अध्यक्ष कुँवरले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















