धुलिखेल– काभ्रे जिल्लाको धुलिखेलको सुन्दर बस्ती स्थित बीपी राजमार्ग सडक खण्डमा सवारी दुर्घट्ना हुँदा एकजना यात्रुको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
आज (बुधबार) बिहान ६ः४५ बजेको समयमा काठमाडौंबाट मन्थली जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ नं. को ईलेक्ट्रिक गाडीले ईलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिएर भाग्ने क्रममा गाडीमा सवार रामेछापको मन्थली नगरपालिका– १२ कि २० वर्षीया रमिला बुढाथोकी घाइते भएकी थिइन् । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा ७ः३० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त दुर्घटनामा ईलेक्ट्रोनिक गाडीमा सवार मन्थली नगरपालिका–१ की पुष्पा तामाङ, लिखु तामाकोसी गाउँपालिका–६ का टंकप्रसाद दाहाल, मन्थली नगरपालिका– २ की ज्ञानु ढुंंगेल, मन्थली नगरपालिका– १ की रकिट ढुंंगेल, लिखु तामाकोसी गाउँपालिका– ६ का अनिल आलेमगर, सिन्धुली सुनकोसी गाउँपालिका–३ की उर्मिला घिमिरे पनि घाइते भएका छन् । त्यसैगरि मोटरसाइकल चालक ईलाम थाकथुम गाउँपालिका–३ का ४० वर्षीय रामकुमार राईको ढाडमा र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवारको देब्रे खुट्टामा चोट लागेको छ ।

उनीहरुको धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने इलेक्ट्रिक गाडीका चालक काभ्रे पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।