बनेपा– जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान सञ्चालन गरेको माओवादी केन्द्रले काभ्रेमा अभियानको दोस्रो चरण सुरु गरेको छ । ३ चरणमा सञ्चालन हुने ३ महिने अभियानको दोस्रो चरण सुरुवात भएको पार्टी जिल्ला संयोजक भोला प्रसाद अर्यालले जानकारी दिएका छन् ।

पहिलो चरणमा सङ्गठन सुदृढीकरणमा लागेका माओवादी केन्द्रले काभ्रे जिल्लामा सङ्गठनलाई सुदृढ बनाउन र कामयाबी बनाउने कार्यको प्रारम्भ भएको संयोजक थापाले बताएका छन् । अभियानको क्रममा सङ्गठन भएको ठाउँमा सुदृढ भएको र नभएको ठाउँमा विस्तार भएको उनको दाबी छ । ‘अभियानको पहिलो चरणबाट सङ्गठन सुदृढ भएको छ । हरेक नेताहरू कार्यकर्ताहरूको समस्या, सल्लाह सुझाव, गुनासो बुझ्न टोल–टोलमा पुगेका छन् ।’ उनले भने, ‘आधार क्षेत्रमा सङ्गठन अझ सुदृढ र सशक्त भएको छ भने नभएको क्षेत्रमा सङ्गठन विस्तार भएको छ । पहिलो चरणबाटै के पुष्टि भएको छ भने पार्टीले अब एउटा स्तरमा राजनैतिक शक्ति प्राप्त गरेको छ ।’

विशेष गरी ग्रामीण क्षेत्रमा माओवादी केन्द्रको सङ्गठन सुदृढ र सशक्त भए पनि सहरी क्षेत्रमा भने निक्कै कमजोर पाइएको छ । सहरी क्षेत्रलाई जोड दिएको माओवादी केन्द्रले जिल्लाको मुख्य सहरी क्षेत्रमा प्रभावशाली केन्द्रीय सदस्यहरूलाई खटाएको छ । पनौतीमा दिनेश श्रेष्ठ र उमा कपाली, बनेपामा अञ्जना विशंखे र गोविन्दबहादुर बटाला, धुलिखेलमा अनिल शर्मा, नमोबुद्धमा धावा लामालाई खटाइएको छ । त्यसैगरि पाँचखालमा रवीन्द्र श्रेष्ठलाई खटाएको छ ।

मुख्यतः बनेपा, पनौती र धुलिखेलमा माओवादी केन्द्रलाई सङ्गठन विस्तार गर्न समे मुस्किल परिरहेको अवस्थामा अभियानले सङ्गठन विस्तार गर्न टेवा पुगेको पार्टीका नेताहरूले बताएका छन् ।

अभियानको पहिलो चरणमा जिल्लाको १ सय ३५ वटामै पुगेको संयोजक अर्यालले बताएका छन् । पहिलो चरणमा सबै वडामा बैठक, टोल भेला, सेल कमिटी गठन, जनवर्गीय सङ्गठनको पालिका भेला, वडा भेला भइसकेको उनले जानकारी दिए । ‘नेता कार्यकर्ताहरूमा नयाँ उत्साह थपेको छ । सबै वडा र टोलमा हामी पुग्न सफल भएको छ ।’ उनले भने, ‘अब दोस्रो चरणमा हामी प्रवेश गरेका छौँ । जनताको घरदैलोमा पुग्छौँ ।’

दोस्रो चरणमा पहिलो चरणको बाँकी काम पूरा गर्ने, पाँच घण्टे स्कुलिङ सञ्चालन गर्ने र जनताको घरदैलोमा पुग्ने उनले बताए ।

दोस्रो चरणको योजना बनाउन विभिन्न पालिकाहरूले विस्तारित बैठक समेत आव्हान गरिसकेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।