धुलिखेल– काभ्रे जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएको टिपर विरुद्ध कारवाही थालेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मापदण्ड विपरीत सञ्चालन भएका टिपर विरुद्ध दैनिक रुपमा ७० देखि ८० वटा कारवाहीमा पर्दै आएको छ ।
प्रहरीले तौल पुल प्रयोग गर्न अटेर गरेर तोकिएको मापदण्ड विपरित निर्माण सामग्री बोक्ने टिपर चालक र ब्यवसायी विरुद्ध कारबाही थालेको बताएको छ । पानी चुहाउने र ओभर लोड बोक्ने टिपर विरुद्ध निरन्तर कारबाही भैरहेको बताइएको छ ।
नियन्त्रणमा लिइएको टिपरको ओभर लोड कटिङ गरेर कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ । अरनिको राजमार्गको केराघारी, पनौती र बीपी राजमार्गमा तौल पुल राखिएको छ ।
तर तौल पुल प्रयोग गर्न टिपर चालक मानिरहेका छैनन् । उसो त तौल पुल राखिएका स्थान छनौटको त्रृटिका कारण प्रयोगमा निकै चुनौती पूर्ण रहेको प्रहरीको भनाई छ ।
तौल पुल अब्यवहारिक भएको र तोकिएको क्षमता अनुसारमा मात्रै बोक्ने यसअघि जिल्ला तहमा सहमति भएको थियो । त्यसको केही समय राजमार्गमा मापदण्ड अनुसार नै टिपर चलेको देखेता पनि क्रमशः ओभर लोड बोक्ने टिपरको संख्या बढ्दै गइरहेको छ ।
प्रशासनले तौल पुल सञ्चालन गर्न खोज्दा गत बैशाखमा ब्यवसायी र चालकले टिपर नचलाएर आन्दोलन गरेका थिए । ब्यवसायी र चालकले जिल्ला प्रशासन कार्यालय धुलिखेलमा धर्ना तथा आन्दोलन गरेका थिए । त्यही आन्दोलनको बेला राज्यले तोकेको मापदण्ड पालना गर्ने टिपर ब्यवसायी र चालकले प्रतिबद्धता जनाएका थिए ।
त्यो बेला तौल पुलका विषयलाई लिएर प्रशासन, राजनीतिक दल र ब्यवसायीबीच चर्काचर्की समेत भएको थियो । राज्यले अनुमति दिएर निर्माण गरिएको तौल पुल अहिले प्रयोग बिहीन छन् । काभ्रे हुँदै दैनिक करिब २ हजारको हाराहारीमा टिपर गुड्ने गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















