धुलिखेल– काभ्रे जिल्लाको ४ वटा गाउँपालिकाको अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । बुधवार महाभारत गाउँपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका र खानीखोला गाउँपालिकाको अन्तरपालिका बैठकले ९ वटा महत्त्वपूर्ण निर्णय गरेको हो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार प्राकृतिक स्रोत साधन, सामाजिक बनौट, पालिकाहरूको सिमाना लगायतका विषय चारै वटा गाउँपालिकाबिचमा विकास निर्माणको लागि समन्वय नगरी नहुने भएकोले बैठकको आयोजना गरिएको हो । समृद्धि सबैको साझा चाहना मात्र होइन, कतिपय रणनीतिक महत्वका योजनाहरू कार्यान्वयन गर्दा समेत सहज अवस्थाको सिर्जना गर्न समान बुझाइको आवश्यकता भएकोले त्यो आवश्यकता बैठकले पूर्ति गरेको जिम्बाको भनाइ छ ।

सडक, पुल, सिँचाइ तथा भवन लगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरू कार्यान्वयन गर्दा अन्तरपालिकाहरुवीच आवश्यक समन्वय, सहकार्य र समझदारी कायम गरी संयुक्त रूपमा बजेट विनियोजन गर्नको लागि प्रदेश र सङ्घ सरकारमा अर्थपूर्ण दबाब पुग्ने उनले बताए ।

राेशी गाउँपालिलकाकाे कार्यालयमा सम्पन्न अन्तरपालिका समन्वय बैठकमा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी र महाभारत गाउँपालिका कान्छा लाल जिम्बा सहभागी थिए ।

त्यसै गरी रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबा, महाभारत गाउँपालिका उपाध्यक्ष, सागर मोक्तान, खानीखोला गाउँपालिका उपाध्यक्ष, दोर्जेमान जिम्बा, रोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, रोशी गाउँपालिका प्रवक्ता वसन्त कुमार तामाङ, बेथानचोक गाउँपालिका प्रवक्ता मधुसूदन तिमल्सिना, वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिना पनि बैठकमा सहभागी थिए ।

यी हुन अन्तरपालिका समन्वयको बैठकले गरेका निर्णयहरुः

१. अन्तरपालिका विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासको आदान प्रदान गर्न अन्तरपालिका बैठक आवधिक रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने ।

२. रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, वेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकाभित्रका जनताहरूको आय स्तरमा वृद्धि गरी सम्बृद्ध पालिका निर्माणका लागि पर्यटकीय गन्तव्य वेथानचोक पहिचान र संरक्षण गरी एकीकृत पर्यटन पूर्वाधार विकासका लागि महाभारत ट्रेल (पर्यटन पदमार्ग), नारायण स्थान, तिनतले झरना, शिव पार्वती गुफा, कपेर महा काल, तिलेश्वर पर्यटन क्षेत्र, तारखसे लेक, घ्याङलेक, चैतेपानी तथा भुमेचुली पर्यटन क्षेत्रको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रवर्द्धनमा संयुक्त लगानी गर्न एकीकृत कार्य योजना निर्माण गरी कार्यान्वयनमा प्रभावकारी पहल गर्ने, थप बजेट व्यवस्थापनका लागि प्रदेश र सङ्घीय सरकार समक्ष पहल गर्ने ।

३. रोशी गाउँपालिका, वेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकालाई समेट्ने गरी जनमुक्ति मार्ग निर्माणका लागि संयुक्त पहल गर्ने र चार वटै गाउँपालिकाभित्र पर्ने विभिन्न सडक, पुल, सिँचाइ तथा भवन लगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरू कार्यान्वयन गर्दा अन्तरपालिकाहरुवीच आवश्यक समन्वय, सहकार्य र समझदारी कायम गरी संयुक्त रूपमा बजेट विनियोजन गर्ने र देहायका पूर्वाधार विकासका लागि थप बजेट व्यवस्थाका गर्न समेत प्रदेश तथा सङ्घीय सरकार समक्ष संयुक्त पहल गर्ने ।
क) चौकी डाँडा–सिपाली–महाभारत सडक सञ्जाल
ख) खोपासी–च्याम्राङवेशी–तालढुंगा सडक
ग) खोपासी–च्याम्राङवेशी–सुकुमफेदी–फापरवारी सडक
घ) फलामेसाँघु–ताराखसे लेक–महाभारत सडक
ङ) फलामेसाँघु–तिनधारे झरना–खानीखोला सडक
च) फलामेसाँघु–महा काल भुग्देउ–कामीडाँडा सडक

४. रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, वेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकाभित्रका विभिन्न स्थानमा निकट भविष्यमा आउन सक्ने सम्भावित प्राकृतिक/गैर प्राकृतिक तथा मानव स्वास्थ्य तथा पशुजन्य विपद् तथा अन्य प्रकारका प्रकोपहरूको पहिचान गरी सोको न्यूनीकरण तथा व्यवस्थापनका लागि चार वटै पालिकाले एकीकृत कार्य योजना बनाई कार्यान्वयन गर्ने र विपद्जन्य घटनाहरूको न्यूनीकरण रोकथाम, उद्धार तथा व्यवस्थापनका कार्य गर्नका लागि पालिकासँग रहेका जनशक्ति, मेशिनरी औजार र सवारी साधनहरूको आवश्यकता बमोजिम आपसी रूपमा सहयोग तथा परिचालन गर्ने ।

५. उच्चतम प्रतिफल प्राप्त गरी राष्ट्रिय लक्ष अनुरूप जनताको जीवनस्तर उकास्नका लागि चार वटै गाउँपालिकाको साझा योजना तथा कार्यक्रम पहिचान गर्ने, सोको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त लगानी गर्ने र थप बजेटका लागि सम्बन्धित निकायमा संयुक्त पहल गर्ने । साथै पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाइ एवं कृषि/भेटेरिनरी लगायतका कार्यक्रमहरू आवश्यकता अनुसार संयुक्त रूपमा सञ्चालन गर्न पहल गर्ने र पालिका स्तरका असल अभ्यासहरू एक अर्कामा आदान प्रदान गर्ने ।

६. पालिकाहरूको समन्वय एवं साझेदारीमा लक्षित कार्यक्रमहरू (प्राविधिक शिक्षालय, अपाङ्गता ग्राम, अन्य आवश्यक सामाजिक तथा आर्थिक विकाससँग सम्बन्धित) सञ्चालनका लागि सम्बन्धित निकायमा संयुक्त पहल गर्ने ।

७. चार वटै पालिकाको भौगोलिक साँध सिमानाका सम्बन्धमा उत्पन्न असमझदारीहरूको पहिचान गरी सह–अस्तित्वको भावना अनुरूप एक आपसमा समन्वय, सहकार्य र समझदारी पूर्वक समाधानका लागि पहल गर्ने ।

८. रोशी गाउँपालिका, महाभारत गाउँपालिका, वेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको साझा प्राकृतिक श्रोतको पहिचान गरी उच्चतम उपयोगका लागि आवश्यक समन्वय र सहकार्य गर्दै त्यसको व्यवस्थापन तथा संरक्षणमा जोड दिने ।

९. (क) जनमुक्ति मार्गको गोकुले – तालढुंगा – भोर्लेनी सडक खण्ड र पिन्थली–रजवास–भुमेचुली सडक खण्डको निर्माण कार्यका लागि आवश्यक पहल गर्ने ।
(ख) महाभारत ट्रेल (पर्यटन पदमार्ग) को वेथानचोक–ताराखसे लेकसम्मको ठेक्का प्रक्रियाका लागि आवश्यक पहल गर्ने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।