नमोबुद्ध– काभ्रे जिल्लाको तीन स्थानीय तहको प्रथम त्रैमासिक समिक्षा सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाको सभाहलमा तेमाल गाउँपालिका, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को विहिबार त्रैमासिक अवधिको समिक्षा सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा भएको सो समिक्षा कार्यक्रम नमोबुद्ध नगरपालिकाले व्यवस्थापन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन वागमती प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री तिर्थबहादुर लामाले एक समारोहका बीच गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले जिल्लाको विकासको लागि लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै आफूले प्रदेश सरकारबाट काभ्रेमा उल्लेख्य बजेट विनियोजन गराएको दावी गरे । साथै उनले ती योजना सफल बनाउन सबै तहले सहयोग गर्न अनुरोध गरे ।
यसैबीच कार्यक्रमको सभाअध्यक्ष समेत रहेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जिल्लाका १३ वटै स्थानीयलाई ६ वटा कल्ष्टरमा विभाजन गरेर प्रथम त्रैमासिक अवधीको समिक्षा गरिने बताए । प्राप्त सुझाव र निष्कर्ष प्रदेश र संघ सरकारलाई पनि पठाउने उनले जानकारी दिए ।
नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले योजना तर्जुमादेखि नै आफूले सबै नगरपालिकामा सबै राजनीतिक दललाई समावेश गराएर अघि बढेको भन्दै सबैका सामुहिक प्रयासमा विकास गरिने बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले यस्ता समिक्षाले एक अर्को पालिकाबाट सिकाइ हुने धारणा राखे ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले योजना बनाउँदा जनतालाई केन्द्रीत गरेर बनाउने भन्दै संविधान, स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार अनुसार नै काम अघि बढाएको बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विकास र सेवा प्रवाहमा शान्ती सुरक्षा पहिलो शर्त भएको भन्दै स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताइन् ।
तेमाल गाउँपालिका उपाध्यक्ष दलमान (डिएम) थोकरले संघ र प्रदेश सरकार समेतको समन्वयमा गाउँपालिकामा विभिन्न खाले योजना सञ्चालन गरिएको बताए ।
समिक्षामा रोशी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, तेमाल गाउँपालिकाकोतर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे र नमोबुद्ध नगरपालिकाको तर्फबाट योजना अधिकृत विष्णुकुमार अधिकारीले त्रैमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पालिकाहरुको त्रैमासिक प्रतिवेदन प्रस्तुत भएपछि विभिन्न राजनीतिक दलका पालिका प्रमुखहरुले सल्लाह सुझाव पेश गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















