काठमाडौं– ‘भिजिट भिसामा विदेश पठाउँछु’ भनेर फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीले छापा मारेको छ । टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । नक्कली कागजात बनाउने काममा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्त बहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काभ्रे घर भएका जीवराज तामाङ, काठमाडौँका साईरस बिसंखे, दीपक केसी र सल्यान घर भएका बल बहादुर रावत छन् । डिएसपी गोविन्द पन्थी नेतृत्वको टिमले त्यसबारे लामो अनुसन्धान गरेको थियो ।

सल्यान घर भएका बल बहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेका हुन् । स्वयम्भूमा दीपक केसीले प्लसटु को नक्कली कागजात बनाउने कारखाना सञ्चालन गरेको एसपी रेग्मीले जानकारी दिए ।

गिरोहले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लस टु को सर्टिफिकेट र नाता प्रमाणित पनि किर्ते बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठले भिजिट भिषामा विदेश जान चाहने ग्राहक खोजेर नक्कली कागजात तयार गर्नका लागी दीपक केसी र बल बहादुर रावतसँगको सम्पर्कमा लैजाने गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।