बेथानचाेक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ‘सहभागिता, पारदर्शिता र जवाफदेहिताका लागी  सार्वजनिक सुनुवाई’ भन्ने मुलनाराका साथ आज गाउँपालिकाको प्रांगनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीको अध्यक्षतामा भएको सार्जनिक सुनुवाई कार्यक्रमको शुरुवातमा गाउँपालिका उपाध्यक्ष तारा रानाले बेथानचोक गाउँपालिकाबाट प्रदान गरिने सेवा र बिकास निर्माण कार्यहरुमा  सुशासन, जवाफदेहिता र पारदर्शिता प्रवर्द्धन गर्न, पालिकाका गतिविधिहरुमा न्याय पूर्ण सहभागिता कायम गरी सुशासनको स्थापनामा टेवा पुर्याउन, गुनासो सुनुवाई तथा समस्याको समाधानबाट सूचनाको हकको प्रवर्द्धन गर्न कार्यक्रमको आयोजना गरीएको जानकारी दिए ।

‘गाउँपालिकाको सेवा वितरणमा जनगुनासो आउन नदिन र सेवाग्राहीलाई केन्द्र विन्दुमा राख्न, गाउँपालिकाबाट प्रदान गरिने सेवा वारे जनगुनासो सुन्न र त्यसको यथोचीत समाधान गर्न, शासन प्रकियामा सहभागिता अभिवृद्धी गर्न, विगतका कमी कमजोरीहरुको समिक्षा गरी पुन दोहोरिन नदिन, सेवाग्राही र गाउँपालिका विच विस्वासको वातावरण सिर्जना गर्न यो कार्यक्रमको आयोजना गरिएका हौं ।’ उनले भने, ‘सेवा प्रवाहमा जनसहभागिता र नागरिक चासो बढाउन, गाउँपालिकालाई आफ्नो काम कार्वाही वारे सचेत र जवाफदेही बनाउन, गुनासो  सुनुवाई तथा समस्याको समाधानबाट जनसन्तुष्टी कायम गर्न, सचेत सेवाग्राही र कर्तव्यनिष्ट गाउँपालिकाको विकास गर्न, आर्थिक भौतिक तथा सामाजिक बिकासलाई गतिशिल बनाउदै समृद्ध बेथानचोक निर्माण गर्ने पालिकाको लक्ष्य र उदेश्य रहेको तथा उल्लेखित लक्ष्य र उदेश्यहरु प्राप्तीको लागी  सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेका हौं ।’

सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाले प्रदान गर्ने सेवा,  आ.व. २०७९/८० तथा चालु आ.व. २०८०/८१ को असोज मसान्तसम्म पालिकाका बिभिन्न शाखाहरु मार्फत सम्पादित मुख्य मुख्य कार्यहरु  एवम् समस्टिगत आय व्यय विवरण समेत सार्वजनिक गरेको थियो ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष राना र प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले गाउँपालिकाले गरेको सेवा प्रवाहकोबारेमा जानकारी दिएका थिए । त्यसपछि विबिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय किसान, ब्यवसायी, शिक्षक–अभिभावक लगायतले सवाल गरेका थिए । सवालको जवाफ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुखहरुले जवाफ दिएक थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीयवासी, समाजसेवी, पत्रकारहरुको सहभागी थियो ।

यस्तो छ गाउँपालिकाले सार्वजनिक गरेको प्रगति विवरण

कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले प्रगति विवरण सार्जनिक गरेका थिए । उनले विषयगत प्रगति विवरण पेश गर्दै सल्लाह सुझाव समेत मागेका थिए ।

 पूर्वाधार बिकास तर्फ

पहिलो वर्षमा गाउँपालिकाले २.५ किलोमिटर सडक कालपत्रे गरेको सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बुढथापाका अनुसार सडक तर्फ नयाँ ट्रयाक ८.८ किलोमिटर, सडक चौडाई ४.५ किलोमिटर, ढलान २.७ किलोमिटर,   नदी नियन्त्रण १ किलोमिटर सम्पन्न गरेको छ । गाउँपालिकाले सडक स्तरउन्नति  तर्फ ग्रावेल ९ किलोमिटर, ग्याविन ३३ सय ५६ नोज, ड्रेन ४.२ किलोमिटर, रिटेनिङ वाल १.७ किलोमिटर, सोलिङ ३.२ किलोमिटर कार्य सम्पन्न गरेको छ । यसैबीच गाउँपालिकाले पुल  3 वटा, कजवाई १ वटा, पैदल पुल ३ वट निर्माण सम्पन्न भएको छ ।

आर्थिक बिकास तर्फ

प्रमुख प्रशासकीय अधिकृत बुढथापाका अनुसार बेथानचोक गाउँपालिका आ.व २०७९/०८० को कृषि शाखाको सम्पन्न गरेको कार्यक्रमहरुमातरकारीको बिउबिजन बितरण कार्यक्रम अन्तर्गत निकिट – ३२०० प्याकेट वितरण, ५०% अनुदानमा कृषि औजार सामाग्री बितरण कार्यक्रम अन्तर्गत मिनिटिलर- ११९ थान, प्लाष्टिक टनेल – ९५ थान, स्प्रेयर पम्प – २१० थान विरण गरेको छ ।

त्यसैगरी  माटो परिक्षण  २ सय  ७२, कृषि चुन वितरण १२ हजार किलो वितरण गर्नुको साथै किसानहरुलाई व्यबसायिक कृषि तालिम, किवि खेती सम्बन्धी तालिम, सुन्तला खेती सम्बन्धी तालिम र सिताके च्याउ खेती तालिम समेत प्रदान गरेको छ ।

यसैबीच बाली संरक्षण कार्यक्रम अन्तर्गत १६० लिटर प्राटिन बेड वितरण, ५ सय ३ वटा किवीको थाङ्ग्रा वितरण र ५० थान मौरीको घार  ७५% अनुदानमा वितरण समेत गरेको छ ।

 बुढथापाका अनुसार पशु बिकास शाखाबाट हिउँदे घाँस वितरण, पशु विमा गरेवापत विमाङ्कको ६०% रकम कृषकलाई अनुदान, औषधि खरिद, रेविज रोग नियन्त्रण कार्यक्रम, गोठ तथा भकारो सुधार, लम्पी स्किन खोप खरिद तथा उपचार लगायतका काम भएको छ ।

 लघु उद्यम तर्फ

गाउँपालिकामा सीप बिकास तालिम अन्तर्गत वडा नं ६ मा ब्यबसायिक तरकारी खेती १३ जना र , ब्यबसायिक बाख्रापालन र कुखुरापालन सम्बन्धि सीप बिकाश तालिममा ४६ जना सहभागि रहेको, २  वडा नं ५ मा ट्याक्टर मर्मत तालिममा १० जना सहभागि रहेको, ३  बेकरी सम्बन्धि सीप बिकाश तालिम पनि सम्पन्न भैसकेको र उक्त तालिममा ७ जना सहभागि रहेको, वडा नं ५ मा ६५ दिने सिलाइकटिङ सम्बन्धि सीप बिकाश तालिम सम्पन्न भइसकेको र उक्त तालिममा २२ जना सहभागि रहेको, माथि उल्लेखित सम्पुर्ण तालिममा ९८ जना ब्यक्तिले तालिम प्राप्त गरेका छन् ।

यसैबीच प्रबिधि हस्तानतरण अन्तर्गत बेथानचोक गाउँपालिकाको लघु उधम बिकास शाखा बाट सञ्चालित गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्र्तगत नयाँ लघु उधमी सृजना तर्फ वडा नं ५ र ६ मा सबै प्रकारका सीप बिकाश तालिम लिई सकेका लघु उद्यमिहरुलाई ब्यबसाय संग सम्बन्धित निम्न बमोजिमको उपयुक्त प्रबिधि हस्तान्तरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

सामाजिक बिकास तर्फ

शिक्षामा धेरै सुधार थालनी भएको प्रमुख प्रशासकीय अधिकृत बुढथापाले जानकारी दिए । उनका अनुसार  न्युन दरबन्दी अनुदान अन्तर्गत १२ वटा विद्यालयमा शिक्षक नियुक्ती गरिएको,   अध्यक्ष संग घुम्ती शिक्षक परिचालन महिला शिक्षक सुत्केरी हुँदा सट्टा शिक्षक, नृत्य, खेलकुद र शिक्षक कम भएको विद्यालयमा पठाउने गरिएको, कक्षा १-३ का सबै विद्यार्थीलाई मूल्याङ्कन फाराम वितरण गरिएको

विषायगत रोष्टर शिक्षकहरुबाट Peer कक्षा अवलोकन, प्रअ बैठक , शिक्षक/बालविकास सहजकर्ता तालिम सञ्चालन पश्चात प्राय: सबै बालविकास कक्षा सुन्दर व्यवस्थापन भएको, पालिका स्तरिय बालगीत प्रतियोगिता र विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

 स्वास्थ्य शाखा मार्फत भएको सेवाहरुमा कोभिड खोपको  पहिलो मात्रा ११४४३ जना , दोसरो मात्रा ८८०६ जना र बुस्टर खोप ६८९३ जना,  ६१ जना आमाहरुलाई गर्भवती , सुत्केरी उत्प्रेरण , सुत्केरी आमा पोषिलो खाना कार्यक्रम मार्फत गा.पा.को श्रोतबाट रु.२००० हजार प्रदान गरिएको, ६२ जना सुतकेरी आमाहरुले स्वास्थ्य संस्थामा ४ पटाक नियमित गर्भ जाँच तथा संस्थागत सुत्केरी गराए वापत गा.पा. बाट रु.१००० का दरले प्रोत्सहान रकम दिएको, ३२३ जना क्षयरोगका शंकास्पद विरामीहरुको एक्सरे सेवा सहित संचालन गरीएको, २ वटा प्रयोगशाला बाट १६३९ जनालाई सेवा दिइएको, नयाँ तथा दोहोर्याएर आएका १३५१४ जना विरामीहरुलाई उपचार  गरिएको, पाठेघर सम्बन्धी स्क्रिनिङ क्याम्पमा ४५३ जनालाई सेवा दिइएको दिइएका मध्ये सुगरका २८८ र प्रेसरका १६५ जना उपचार गरिएको, ४१ जनालाई विपन्न नागरिक औषधि उपचार सिफारिस, ३५ जनालाई मासिक   रु. ५०००।-  औषधि उपचार खर्च भुक्तानी दिएको छ ।

 न्यायिक समिति मार्फत भएका सेवाहरु

२०८० असार मसान्त सम्म दर्ता भएका जम्मा मुद्दा संख्याः ५१, फिर्ता संख्या २, तामेलि संख्या १२, डिसमिस संख्या १२, खारेजी संख्या १०, आदेश तथा मिलापत्र संख्या १२, फैसला संख्या २ लगाउ मुद्दा संख्या १ र दरपीठ मुद्दा संख्या १ रहेका छन् ।

यसैबीच गाउँपालिकाले निःशुल्क कानूनी सल्लाह तथा परामर्श ५०० जना भन्दा माथि लाई दिइएको जनाएको छ । स्थानीय ऐन कानून सम्बन्धि सरोकारवालाहरु बिच पालिकास्तरीय अभिमुखिकरण तालिम सञ्चालन गरिएको, कानून तर्जुमा र राजपत्र सम्पादन, व्यवस्थापन तथा प्रकाशन सम्बन्धी सरोकारवालाहरु बिच पालिकास्तरीय तालिम कार्यक्रम आयोजना गरिएको, कानुन न्याय तथा मेलमिलाप सम्बन्धी पालिकास्तरीय गोष्ठी सम्पन्न गरेको, स्थानीय कानून जनप्रतिनिधिका काम कर्तव्य र अधिकार सम्बन्धि पालिकास्तरी कार्यक्रम गरिएको, लैंगिक हिंसा यौन दुव्र्यहार र नागरिकका काम कर्तव्य सम्बन्धि पालिकास्तरीय कार्यक्रम गरिएको, समसामयिक कानून सम्बन्धि पालिकास्तरीय कार्यक्रम गरिएको, कानूनी साक्षरता सम्बन्धि वडास्तरीय कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।