बनेपा– नेकपा (एमाले) बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रंजितकारले आफूलाई ठगी गरेको आरोप लगाउँदै डा. डिल्लीराज रिजालले पत्रकार सम्मेलन गरेको छ । मंगलबार बनेपामा नेकपा (विप्लब)को आयोजनामा पत्रकार सम्मेलन गरेर आफूलाई रंजितकारले ठगी गरेको सार्वजनिक गरेको हो ।
प्रहरी प्रशासन र अदालतमा धाउँदा पनि आफूले न्याय नपाएपछि नेकपा महासचिव विप्लब सीको शरणमा पुगेको डा. रिजालले पत्रकार सम्मेलनमा बताएका छन् । विप्लब नेतृत्वको नेकपाका केन्द्रिय सदस्य विन्दु सीको सहभागीतामा सो पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
स्थानीय तह निर्वाचन–२०७९ मा एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका रंजितकारले आफूलाई अपहरण, कुटपिट, मानसिक यातना दिने, ‘इमोश्नल ब्ल्यक मेलिङ’ र ‘हनी ट्र्याक’मा पारेर ठगी गरेको आरोप लगाएका छन् ।
वीर अस्पताल लगायतका देशैभरिका विभिन्न अस्पताहरुमा विगत १५ वर्षदेखि चिकित्स सेवा गर्दै आएका रिजालले आफूले बनेपा–१० स्थित जनगालमा आफ्नो जग्गा बेचबिखनको क्रममा ठगी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । ‘बनेपामै बस्ने रत्नकुश रंजितकारले म बाट ३३.५ रोपनी जग्गा खरिद गरि लिने सम्बन्धमा केही रकम बाँकी राखी खरिद गरेका थिए । उक्त बाँकी रकम भुक्तानी पाउन २०७६ साल देखि आजसम्म पटकपटक ताकेता गर्नु प¥यो र चेक रकम असुल्न अदालतसम्म पुग्नु परेको थियो ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर लेनदेनको विषयमा जग्गा खरिद गर्ने रत्नकुशलाई पनि कारबाही नगर्ने तर लेनदेन आपसी सहमतिबाट मिलाउने भनि अदालतबाट नै मिलापत्र पनि गरिएको थियो ।’
डा. रिजालका अनुसार जग्गाको बाँकी रकम दिन आफूसँग पैसा नभएको भन्दै रन्जितकारले आफूलाई जग्गा नै फिर्ता लान अनुरोध गरेका थिए । आफूले जग्गा फिर्ता लिन पैसा समेत थप गरेर दिएको तर जग्गा भने फिर्ता नगरेको उनको आरोप छ । ‘उक्त रकम दिनलाई पैसा छैन भनि रत्नकुशले जग्गा नै फिर्ता लानु भन्दै अरु थप रकम मबाट लिएर एनआइसी बैंकबाट फुकुवा गरि जग्गा नै फिर्ता लानु भनि, सो पछि थप रकम लिएर जग्गा फिर्ता दिएनन् । सो अन्याय विरुद्ध रु. ३ करोड दाबी गरि सम्पूर्ण प्रमाण सहित मैले सम्मानित काभ्रे जिल्ला अदालतमा न्यायको लागी मुद्दा दायर गरेको थिंए ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस पछि हिसाबकिताब मिलाउं भनि मिलापत्रको लागी निज रत्नकुशले मलाई बनेपा बोलाएर अपहरण शैलीमा मिति २०८०।०३।२२ गते होटल भिलेज रिसोर्टमा दिनभर बन्धक बनाएर राखे, दिनभर मलाई मानसिक यातना दिने, डर धक्की दिने, ब्यक्ति बोलाएर पानीको बोतलले हान्ने पनि गरे र अन्त्यमा दुईजना स्थानीय व्याक्तीको नाममा २ र ३ करोडको चेक काट्न लगाएर दिनभर बन्धक बनाएर राखे र उक्त चेकको धम्की दिँदै मुद्दा मिलापत्र गर्न बाध्य बनाए ।’
काभ्रे जिल्ला अदालतमा दायर गरेको मुद्दा मलाई अपहरण गरि शरीर बन्धक बनाइ चेक कटाई अपरिचित मान्छे प्रयोग गरि कुटपिट गरि डर र त्रासमा मानसिक यातना दिएर मुद्दा फिर्ता गर्न बाध्य बनाएकाले यो अन्याय विरुद्ध सामाजिक न्यायको आस गरेर पत्रकार सम्मेलन गरेको उनले बताए ।
यस्तो छ प्रेस विज्ञप्तिः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























