मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा १५ शैयाका नयाँ अस्पताल भवनको शिलान्यास भएको छ । सोमबार नेपाल सरकारको स्वास्थय तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक समारोहका बीच अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वास्थ्यको क्षेत्रमा ठूलो परिवर्तन गर्न अझै आवश्यक रहेको बताउनुभयो । ‘म मन्त्री भएपछि स्वास्थ्यको क्षेत्रमा सुधारका काम भएका छन् । अझ धेरै गर्न जरुरी छ । कर्मचारी ब्यवस्थापनसँगै पालिका स्तरमा सञ्चालनमा आएका अस्पतालहरुले समेत ठूलो राहत पाउनेछन् ।’ उनले भने, ‘कर्मचारी दरबन्दी सिर्जना गर्ने गरी मन्त्रालयले तयारी गरिररहेको छ । मण्डनदेउपुर नगरपालिका अस्पताललाई पनि तत्काल आवश्यक पर्ने साना प्रकृतिका उपकरण प्रदान गर्न हामी तयार छौँ ।’
कार्यक्रममा नगरप्रमुख वाईबाले तोकिएकै समयभित्र काम सम्पन्न गर्ने पूर्ण आशाका साथ नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई थप मजबुद बनाउन नयाँ भवनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यसैगरि उपप्रमुख विष्णुमणि नेपालले अहिले सञ्चालनमा रहेको ५ बेडको नगर अस्पतालको सेवा बढी चुस्त पार्दै नयाँ भवनबाट नागरिकलाई स्वास्थ्य सेवा अझ ब्यवस्थित र प्रभावकारी ढंगबाट गर्न सकिने बताए ।
यो अस्पताल भवन भ्याट सहित २२ करोड ८६ लाख ६० हजार ४४७.६७ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । २०८० साल साउन ३२ गते सम्झौता भएको यो भवन २०८१ साल पुस १ गतेभित्र सकिनेछ । भवन निर्माणको ठेक्का क्षितिज ग्रीन तारा जेभीले पाएको छ । नयाँ भवन संघीय सरकार र नगरपालिकाको साझेदारीमा निर्माण थालिएको हो ।
नयाँ भवन हाल सञ्चालनमा रहेको ५ बेडको मण्डनदेउपुर आधारभूत अस्पताल रहेकै ठाउँमा निर्माण हुनेछ । ५ बेडको आधारभूत अस्पताल बागमती प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो । उक्त आधारभूत अस्पताल निर्माणमा प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विशेष भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा नगरभित्रका विभिन्न राजनीतिक दल, समाजसेवी, बुद्धिजिवी तथा नगरबासीको सहभागी थियो । अस्पताल वडा नं. ७ स्थित नाैविसेमा निर्माण हुन लागेको हाे । अस्तपताल निर्माण हुनेभएपछि स्थानीय खुशी भएका छन् ।
स्वास्थ्य चौकी भवन हस्तान्तरण
यसैबीच मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० मा रहेको चण्डेनी स्वास्थ्य चौकीको भवन मन्त्री बस्नेतले हस्तान्तरण गरेका छन् । २०७२ साल बैशाखको भूकम्पले भत्किएको स्वास्थ्य चौकी भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























