काठमाडौं– लप्सीफेदी नजिक प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा ९ जना घाइते भएका छन्। विद्युत प्राधिकरणले बनाउन लागेको लप्सीफेदी सब स्टेसन स्थानान्तरणको माग गर्दै आएका स्थानीय बासिन्दाले क्याम्प निर्माण गर्न आएको सशस्त्र प्रहरी बललाई अवरोध गर्न खोज्दा झडप भएको स्थानीय आरके तामाङले जानकारी दिए।

तामाङका अनुसार चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विरोधको अगुवाइ गरेका तुलाराम तामाङका अनुसार घाइतेमध्ये गम्भीर अवस्थाका तीनजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सब स्टेसन निर्माणस्थल बोझेनीमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प निर्माण गर्न सशस्त्र प्रहरीको टोली शुक्रबार बेलुकी त्यहाँ पुगेका थियो। तर, स्थानीयवासी क्याम्प स्थापना गर्न नदिने भन्दै विरोधमा उत्रिएपछि झडप भएको थियो।

काठमाडौंको शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिन तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं लगायतमा वितरणका लागि त्यहाँ ४००, २२० र १३२ केभीका सब स्टेसन बनाउने योजना छ। तर स्थानीयले भने सब स्टेशन निर्माणले आफनो थातथलो उठ्नसक्ने भएकाले अन्यत्र स्थानान्तरण गर्न भन्दै गत वर्षदेखि नै विरोध गरिरहेका छन्।

स्थानीयवासीहरु सबस्टेशन निर्माणले आफ्नो थातवास उठ्न सक्ने भन्दै प्रस्तावित सबस्टेशन अन्यत्र स्थानान्तरण गर्नुपर्ने भन्दै ३२२ दिनदेखि लगातार आन्दोलनमा छन्। सबस्टेशनका लागि बोझेनी भनिने लप्सीफेदीमा पटक पटकको अधिग्रहणबाट ७० जना जग्गाधनीको एक सय ७० रोपनी जग्गा प्राधिकरणले लिइसकेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।