बनेपा– नेकपा (माओवादी केन्द्र) काभ्रेको छैठौं पूर्ण बैठकसम्पन्न भएको छ । बुधबार आदिवासी जनजाति महासंघको सभा हलमा सो बैठक सम्पन्न भएको हो ।

बैठकले पौष ९ गते जिल्लाको १ सय ३५ वटै वडाको सम्मेलन एकैसाथ गर्ने निर्णय गरेको पार्टीको जिल्ला सचिव दैवलाल घिसिङ (अनुशिल)ले जानकारी दिएका छन् । पार्टी वागमती प्रदेश कमिटीले प्रदेशको ११ सय २१ वटा वडामा एकै साथ वडा सम्मेलन गर्न निर्देशन दिए बमोजिम नै वडा सम्मेलन एकै साथ गर्ने निर्णय गरेको सचिव घिसिङले जानकारी दिए ।

बैठकले पौष १ देखि ८ गतेसम्म हरेक टोलमा टोल समिति गठन गरी वडा सम्मेलनको तयारी गर्ने, वडाभित्र कम्तिमा नौवटा टोल हुन्छ भन्ने मानेर ५ वटा टोल समिति गठन भएको वडाले मात्रै सम्मेलनको बैधानिकता प्राप्त गर्ने भएकोले प्रत्येक वडाले कम्तिमा ५ वटा टोल अनिवार्य गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रदेशको बैठकले अभियानलाई पौष १६ गतेसम्म निरन्तरता दिन अभियानमा खटेका केन्द्रिय सदस्यहरु लगायत सबैलाई आ–आफ्नो अभियानको कार्यक्षेत्रमा फर्किएर अझ सक्रियतापूर्वक अभियानलाई निरन्तरता दिन निर्देशन दिएको थियो ।

मंसिर भरिमा पार्टी सदस्यता नविकरण र वितरण

यसैबीच बैठकले मंसिर मसन्तसम्ममा पार्टी सदस्यता नविकरण र वितरण सकाउने निर्णय गरेको सचिव घिसिङले जानकारी दिए । ‘पौष १ गते पश्चात पार्टीको अर्को निर्णय नहँुदासम्मका लागि पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण कार्य बन्द गर्न प्रदेश कमिटीको निर्देशन आएको छ ।’ उनले भने, ‘त्यसैले मंसिर अन्तिमसम्म सबै पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणको काम अनिवार्य सम्पन्न गरिसक्ने निर्णय गरेको छौं ।’

काभ्रेको सबै पालिकाको एकै दिन समिक्षा

यसैबीच पौष १३ गते काभ्रेको १३ वटै स्थानीय तहमा एकै दिन ४ महिने अभियानको समिक्षा गर्ने निर्णय गरेको छ । घिसिङका अनुसार पौष १० गते समिक्षा बैठक बसी पालिका स्तरिय अभियानको विस्तृत प्रतिवेदन तयार पारी जिल्ला र प्रदेश कार्यालयमा पेश गर्नुपर्ने निर्णय गरेको छ ।

जनप्रतिनिधिहरुले मतदातालाई भेट्ने

यसैबीच बैठकले मंसिर १५ गतेदेखि पौष १ गतेसम्म माओवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु मतदातासँग जाने निर्णय गरेको छ । पालिका प्रमुख, वडा अध्यक्षहरुले १५ दिने कार्यक्रम बनाएर जनताको सुझाव, आलोचना एवं समिक्षा सहित जनसम्बन्ध सुदृढ गर्दै राय सुझाव संकलन गर्ने कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकमा अयिभानको जिल्ला संयोजक तथा केन्द्रिय सदस्य धावा लामा, केन्द्रिय सदस्यहरु दिनेश महर्जन, अनिल शर्मा, रत्न ढकाल, कृष्ण अधिकारी, उमा कपाली, शंकर दुलाल, राजेन्द्र श्रेष्ठ, गोविन्द बटाला, गंगाबहादुर तामाङ, लक्ष्मी गुरुङ, रुकु चौंलागाईं, वागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री, विशेष प्रदेश उपाध्यक्ष सन्तोष पौडेल, वागमती प्रदेश कमिटी सचिव इन्द्रबहादुर थिङ, केन्द्रिय सल्लाहकारहरु विष्णुप्रसाद गौतम, बुद्धिमान तामाङ लगायतका सहभागी थियो । बैठक जिल्ला अध्यक्ष भोला अर्यालयको अध्यक्षतामा र सचिव दैवलाल घिसिङको सञ्चालनमा सम्पन्न भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।