नमोबुद्ध– काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले टोलबस्तीमा एकिकृत घुम्ती सेवा सञ्चालन शुरु गरेको छ । पालिकाले आजबाट एकीकृत घुम्ती सेवा संचालन गरेको हो ।

घुम्ती सेवामा नगरपालिकाले वडा कार्यालयमा नै योजना सम्झौता, स्वास्थ्य परिक्षण, अपांगता परिचयपत्र वितरण, व्यवसाय दर्ता, घरदैलोमा नै कृषि तथा पशुसम्बन्धी सेवा प्रदान गरेको योजना अधिकृत विष्णुकुमार अधिकारीले जानकारी दिए ।

नगरपालिका केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजश्व संकलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपांगता लगायतका लक्षित वर्ग सम्बन्धमा नगरपालिकाबाट प्रदान गरिने सेवासहित सबै वडामा मंसिर मसान्तसम्म एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए । ‘आम नागरिकलाई घरदैलोमा नै सेवा सुविधा दिने हाम्रो उद्धेश्य हो ।’ नगरप्रमुख लामाले भने ।

नमोबुद्ध नगरपालिकाले कार्यतालिका नै बनाएर सबै वडाका भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा एकिकृत घुम्ती सेवा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।