भुम्लु– काभ्रे जिल्लाको चौरीदेउराली र भुम्लु गाउँपालिकाको त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । भुम्लु गाउँपालिकामा साेमबार सम्पन्न साे कार्यक्रममा चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासिक समीक्षा भएको थियाे ।

कार्यक्रमकाे श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले एक समारोहकाबीच उद्घाटन गरिएको थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले उत्पादन मुलुक कार्यक्रममा बजेट विनियोजन गर्न स्थानीय सरकारलाई आग्रह गर्दै नागरिकलाई प्रदान गरिने सेवामा समेत सुधारको खाँचो औल्याएका थिए । उनले स्थानीय सरकार जनतालाई छिटो सेवा प्रदान गर्ने सरकार भएकाले प्रतिस्पर्धात्मक ढंगले राम्रो काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीले अहिले गरिरहेकाको काममा देखापरेका समस्यामा केही मान्छेले ब्यवस्था प्रति नै औँला उठाइरहेका छन् ।’ उनले भने, ‘हामी पनि सुध्रिनु पर्ने ठाउँमा सुध्रनु पर्छ । हामीले नागरिकलाई दिने सेवा सुविधामा यो वा त्यो बहानामा अल्झाउने काम गर्नु हुँदैन । संविधानको भावना र मर्म अनुसार तीनै तहको सरकारले जनताको हितमा काम गर्नुपर्छ ।’

समन्वय प्रमुख दिपक कुमार गौतमले बार्षिक रुपमा भन्दा त्रैमासिक रुपमा गरिएको समीक्षाले स्थानीय सरकारलाई काम गर्न सहज हुने बताए । ‘वर्षमा एक पटक मात्रै समीक्षा गर्नु भन्दा तीन÷तीन महिनामा समीक्षा गर्दा प्रभावकारी हुने देखियो ।’ उनले भने, ‘दुई वा त्यो भन्दा बढी पालिकालाई एकै ठाउँमा राखेर समीक्षा गर्दा एक अर्काले गरेको राम्रो कामको अनुशरण गर्न र सुधार गर्नुपर्ने पक्षलाई मनन गर्न सहज हुन्छ । जिल्लाका सबै पालिकाहरुको त्रैमासिक समीक्षा गछौँ ।’

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमको अध्यक्षतामा भएको कार्यक्रममा दुबै पालिकाले तीन महिनामा हासिल गरेको प्रगति तथा आगामी दिनमा गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समितिले यसअघि भकुण्डेमा नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यसैगरी पाँचखाल र मण्डनदेउपुर नगरपालिकाको पनि प्रथम त्रैमासिकको समीक्षा सम्पन्न भईसकेको छ । कार्यक्रममा चाैरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चाैलागाईं, भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल लगायतका सहभागी थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।