काभ्रे । जिल्लाको रोशी खोलामा निर्माण गर्न लागेको दुई वटा पूल (बेलीव्रिज) अलपत्रमा परेको छ । निर्माण कार्यलाई बीचैमा छोडेर निर्माण कम्पनीहरुले लापरवाही गरेका कारण यसरी अलपत्र अवस्थामा पुगेका हो ।

निर्माण थालिएको पाँच वर्ष पूरा भइसक्दा पनि बनाउने जिम्मा लिएको लामा र नागार्जुन जेभीले निर्माण पूरा नहुँदै बीचमा छाडेकाले नमोबुद्ध नपा र रोशी गापा जोड्ने पूल (चौकीडाँडा) र तेमाल गापा र रोशी गापा जोड्ने पूल (माम्ती) अलपत्र परेको छ ।

पुलको दुबैतिर खम्बा ठडाउनेसम्मको काम सम्पन्न भएपछि उक्त पुलको निर्माण गर्ने कम्पनीले काम रोकेको थियो ।
रोशीमा नै त्यस्तै प्रकृतिको अर्को बेलीब्रिज पनि वर्षौैंदेखि अलपत्रै छ । काभ्रेको रोशी गाउँपालिका वडा नं. ७ तत्कालिन सिपाली गाउँविकास समितिको थान्सिङबेशीमा हालको नमोवुद्ध नगरपालिका वडा नं. ६ खरिबोटलाई जोड्ने पुलको थोरै मात्रै काम सकिएको अवस्था छ । यो पुलको निर्माण गर्ने जिम्मा कन्काई कान्छाराम कन्ष्ट्रक्सन जेभीले ६ वर्षअघि लिएको थियो । यी दुबै पुल एकोहोरो सवारीसाधन पार गर्ने पक्की पुलहरु हुन् ।

जापान सरकारको सहयोगमा निर्माण थालिएका यस्तै अन्य १६ वटा पुलहरुको स्वीकृति भएको थियो । जापानीज प्रविधिअनुसार निर्माण सम्पन्न गरिने देशभर टेण्डर भएका १८ वटा यस्ता बेलिब्रिजमध्ये जम्मा एउटा मात्रै निर्माण सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएको उक्त पुलले सिन्धुली र उदयपुर जिल्लालाई जोड्दछ । जापान सरकारको सामुदायिक सुधार परियोजना अन्तर्गत जापान सरकार र नेपाल सरकार बीचको मित्रता र सहयोगको चिनो रुवरुप जापानी जनताको तर्फबाट ती पुलहरु अनुदान सहयोगमा उपलब्ध गराइएको थियो ।

पुल निर्माणका लागि जापानीज संस्था नेपोन कोइले नेपालको सरकारी निकायसँग समन्वय गरी टेण्डर निकालेको थियो । जसमा नेपाली निर्माण कम्पनीहरुले निर्माणको ठेक्का लिएका थिए ।

निर्माण अलपत्र पारिएपछि सिपाली शिसाखानी, महादेवटार, शिखरआम्बोटे, खहरेपाँगु, डाँडापारिका महाभारत र खानीखोला गाउँपालिकाका बासिन्दाहरुले समस्या झेल्दै आएका छन् । रोशीको बीचभागतिर पर्ने यो पुलको निर्माण कार्य ५० प्रतिशत पनि पूरा नभएको बताइन्छ ।

उता रोशीको वडा नं. ११ माम्तिबेशी र तेमालको वडा नं. ८ लाई जोड्ने पुल नबन्दा वीपी राजमार्ग भएर यात्रा गर्नुपर्ने स्थानीयले सास्स्ती व्यहोर्दै आएका छन् । पक्की पुल नबन्दा स्थानीय कृषि उत्पादनलाई बजारसम्म पु¥याउन असहज देखिएको छ । त्यस्तै अत्यावश्यक दैनिक उपभोग्य सामान प्राप्त गर्न वर्षातका समयमा स्थानीय उपभोक्ताले जोखिम मोलेर भेलमा आवत जावत गरिरहेका छन् ।

सम्झौतामा उल्लेख भए बमोजिम निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले काम नगरेपछि निर्माण कार्य रोकिएको सरोकारवालाले बताएका छन् । विशेषगरी जापानीजहरुले पुलको गुणस्तर र कामदारको सुरक्षामा प्रश्न उठाएपछि निर्माण कम्पनी पछि हटेको बताइन्छ । निर्माण रोकिएपछि ठेक्का सम्झौता रद्द गरी सहयोगी दातृ निकायले नेपाल सरकारको ग्रामीण पूर्वाधार बेलीब्रिजलाई जिम्मा लगाए पनि पुल निर्माणका लागि कतैबाट पहलकदमी नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

 

Comments

comments