काठमाडौं–  आगामी मंसिर २९ र ३० गते राजधानीको चुच्चेपाटीमा तामाङ मौलिक सेलो संगीत महोत्सव हुने भएको छ । नेपाल तामाङ कलाकार संघकाे आयाेजनामा साे महाेत्सव हुन लागेकाे हाे ।

नेपाल तामाङ कलाकार संघले आज एक पत्रकार सम्मेलनकाे आयाेजना गरी साेकाे जानकारी दिएको थियाे । तामाङ मौलिक गीत,संगीत,सभ्यता,संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले तेस्रो संस्करणको रुपमा यो महोत्सव गर्न लागिएको संघका अध्यक्ष विशाल काल्तानले जानकारी दिए । ‘तामाङ मौलिक संस्कृतिको मेरुदण्डको रुपमा रहेको डम्फू संस्कृति अर्थात ताम्बा संस्कृति हाम्रो प्राण हो,हाम्रो शान हो ।’ अध्यक्ष काल्ताने भने, ‘डम्फू संस्कृतिले हाम्रो ठुङसा(उत्पति), सभ्यता, बाप्साको कुरा गर्छ, यसैको जगबाट सिर्जिएको सेलो संगीत, डम्फू तथा ताम्बा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव गर्ने भएका हौं ।’

कार्यक्रमको मुल आकर्षणको रुपमा नै ताम्बा संस्कृति रहने जानकारी गराउँदै उनले महोत्सवमा ताम्बाहरुद्धारा डम्फूको महत्वलाई प्रष्ट्याउने, विज्ञहरुसँग अन्तरक्रिया र ताम्बा संस्कृतिका गीतहरुको प्रस्तुती झनै पृथक रहने उल्लेख गरिएको छ । यसका लागि दोस्रो दिन ३० गतेको कार्यक्रमहरु सांगीतमय बनाउने आयोजकको तयारी छ ।

‘ह्याङला ह्रिमठिम ह्याङला ग्योअी, ह्याङनोन डिक्सी छार्ना लाअी’ भन्ने नाराका साथ हुन लागेको महोत्सवले यिनै मौलिक सेलो संगीत,डम्फू,ताम्बा संस्कृति प्रस्तुती,प्रदर्शन एवं यो विषय छलफल बहसमा ल्याउने बताउँदै महोत्सवमा तामाङ भाषा,संस्कृति,गीत संगीतमा महत्वपूर्ण योगदान दिने प्रतिभाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले बताए ।

तामाङ सांस्कृतिक सभ्यता सम्बन्धि सबै कुराहरु समेटेर महोत्सव गर्ने क्रममा तामाङ कला, संस्कृति, भेषभूषा, खानाका परिकारहरुको स्टलहरु पनि हुनेछन् ।

महोत्सव २९ गते बौद्धस्थित तामाङ संघसंस्थाहरुसँगको सहकार्य सहभागिता सहित तामाङ कलाकारहरुको सांस्कृतिक र्याली चुच्चेपाटी हायत मैदानमा पुगे पश्चात औपचारीक समारोहका बीच बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको पमुख आतिथ्यतामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा महोत्सवबारे तयार पारिएको प्रचार सामाग्री पोष्टरको अध्यक्ष काल्तानका साथै लोक सम्राट चन्द्रकुमार मोक्तान, वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ, रोज मोक्तान, प्रेम लोप्चन, गायिका इन्दिरा गोले, इन्दिरा योञ्जन, संघका सल्लाहकारद्वय विश्व दोङ र सञ्जिव वाईबा, वरिष्ठ नायिका चाँदनी मोक्तान लगायतका अतिथिहरुले संयुक्त रुपमा सार्वजनिक गरे । सोही अवसरमा महोत्सवको जिंगल पनि सार्वजनिक गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।