तेमाल- काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका कमिटीको आयाेजनामा विधागत प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत विधागत प्रशिक्षण कार्यक्रम शुक्रवार तेमालकाे ग्याेइखारमा सम्पन्न भएको हाे ।
कार्यक्रमकाे प्रमुख प्रशिक्षकमा पार्टीकाे केन्द्रिय उपमहासचिव तथा प्रशिक्षण विभाग प्रमुख गिरिराजमणि पाेखरेल थिए । प्रमुख अतिथि समेत रहेका नेता पाेखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओवादकोबारेमा ब्याख्या गरेका थिए । दर्शनशास्त्र, अर्थशास्त्र र वैज्ञानिक समाजवादकोबारेमा उनले प्रशिक्षण दिएका थिए । त्यसैगरि उनले पार्टीको तीन नीति रणनीति, मुख्य कार्यनीती र तत्कालीन कार्यनीतिको बारेमा समेत सविस्तार व्याख्या गरेका थिए ।
साथै प्रशिक्षण कार्यक्रममा पार्टीकाे आठाैं महाधिवेशनले पारित गरेको ‘एक्काइसाैं शताब्दीमा समाजवादकाे नेपालीबाटाे’काेबारेमा समेत प्रशिक्षण दिएको थियाे ।
माओवादी केन्द्रले जिल्लामै पहिलाे पटक विधागत प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरिएको माओवादी नेताहरुले बताएका छन् । यस अघि पार्टीले विभिन्न समयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेपनि विधागत रुपमा भने सञ्चालन नगरेकाे बताउँदै अब तेमालबाट विधागत प्रशिक्षण शुरु भएको उनीहरुले बताएका छन् । यस अघि नेतहरुकाे पट्यार लाग्दाे भाषणलाई नै प्रशिक्षण मान्दै आएकोमा याे पटक भने त्याे परम्परा भत्काएको उनीहरु बताउँछन् । कार्यक्रममा प्रमुख प्रशिक्षकलाई मात्र बाेल्न दिएको थियाे ।
नयाँ पस्तालाई माओवादी राजनीतिमा समावेश र सक्रिय गराउन प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्नेमा उनीहरु विश्वस्त देखिन्छ ।
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु सूर्यमान दाेङ, धावा लामा, शंकर दुलाल लगायतका नेताहरु सहभागी थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















