धुलिखेल– नेकपा एमालेको आयोजनामा जारी समृद्धिका लागि संकल्प यात्रा महाअभियान भाेलि काभ्रे आईपुग्ने भएको छ । शुक्रवार एमालेले बनेपामा एक पत्रकार सम्मेलन गर्दै काभ्रेको मण्डनदेउपुरस्थित कुन्तावेशीमा विशाल जनसभाकाे आयोजना गरिएको जानकारी दियाे ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारासाथ दार्चुलाको झुलाघाटबाट शुरु भएको अभियानको यात्रा ११ औं दिन यो आइतबार सिन्धुपाल्चोकको मेलम्ची हुदै काभ्रेपलाञ्चोक प्रवेश गर्न लागेको जिल्ला अध्यक्ष अशोक व्याञ्जुले जानकारी दिए ।

यो यात्राले एमालेको सशक्तिकरणका साथै अध्यक्ष केपी ओलीको नेतृत्वमा शुरु भएको ‘समृद्ध नेपाल,सुखी नेपाली’ राष्ट्रिय संकल्प पूरा गर्न जनतामाझ नयाँ उत्साह समेत जागृत गराउने अध्यक्ष व्याञ्जुले बताए ।

मध्यपहाडी(पुष्पलाल)लोकमार्ग हुदै दार्चुलाको झुलाघाट-पूर्वको चिवाभञ्ज्याङसम्मको यात्रा स्थानीय जनताको समस्या संकलन,समाधान एवं विकासका सम्भावनाहरुको खोजीका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

यसैबीच एमाले जिल्ला कमिटि काभ्रेका सचिव राजन भुर्तेलले एमालेको संगठन बलियो बनाउने, बिस्तार गर्ने रणनीति मात्रै हैन, स्थानीय जनताका आकांक्षा, विकासका सम्भावनाको पहिचानका लागि पनि यो यात्रा महत्वपूर्ण हुने दावी गरे ।

भाेलिकाे जनसभामा करीव २० हजार जनता सहभागि हुने अपेक्षा गरिएको उनले बताए । साे  सभालाई एमाले केन्द्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको छ ।

नेकपा एमाले काभ्रे र सिन्धुपाल्चोककाे स‌ंयुक्त आयाेजनामा जनसभा गर्न लागिएको सचिव भुर्तेलले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।