तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा साँस्कृतिक पर्यटन विकासको लागि विज्ञहरुसँग छलफल शुरु भएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रस्तुत गरेका वार्षिक नीति तथा कार्यक्रममा ‘साँस्कृति सम्बन्धी नीति तथा कार्यक्रम’ अन्तर्गत यो छलफल शुरु भएको हो ।

अध्यक्ष तामाङ द्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ, ‘तेमाल गाउँपालिका तामाङ समुदायको उच्चतम स्थल भएकले तामाङ समुदायको पहिचान झल्कने गरी सार्वजनिक, नीजि तथा समुदायको सझेदारीमा एक अन्तर्राष्ट्रिय तामाङ साँस्कृतिक केन्द्रको स्थापना गर्ने लक्ष्य तथा नीति लिइनेछ ।’

तामाङ समुदायको उद्गमथलो तथा गुरु रेम्बोर्छेले तपस्या गरेको क्षेत्रको रुपमा परिचित तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक संग्रहालय निर्माण गर्न तेमाल गाउँपालिकाले विज्ञ तथा सरोकारवालासँग छलफल थालनी गरेको हो । तेमालमा सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यले गाउँपालिकाको तर्फबाट पालिका उपाध्यक्ष दलमान थोकरको सहभागीतामा साँस्कृतिक पर्यटन विकासको सम्भावनाको बारेमा पहिलो चरणको छलफल भएको थियो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष थोकरले सांस्कृतिक विज्ञ, सामाजिक सङ्घरसंस्था र सञ्चारकर्मीसँग राय सुझाव लिने काम भएको छ ।

छलफलमा उपाध्यक्ष थोकर, मानवशास्त्री डा. मुक्तसिं थोकर, अन्तर्रास्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, तामाङ घेदुङको सङ्घीय अध्यक्ष मोहन गोले, सहअध्यक्ष कुमार घिसिङ, महासचिव जगत दोङ, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, गायक विश्व दोङ, नेकपा (माओवादी केन्द्र) तेमालका अध्यक्ष समीर तामाङ र शिक्षा शाखाका प्रतिनिधि भीम तामाङलगायतको सहभागी रहेका थिए ।

तामाङ संस्कृति, धर्म, भाषा र कलाको विकास तेमालबाट भएको र यसको संरक्षण र विकासको लागि तेमालले अन्तर्राष्ट्रय तामाङ संग्राहलय निर्माण गर्न लागेको उपाध्यक्ष थोकरले जानकारी दिए । नेपालका तामाङहरु मात्र होइन विश्वकै तामाङहरु तेमालमा आउने वातावरण निर्माणका लागि गाउँपालिकाले यो विषयलाई नीति तथा कार्यक्रममै समावेश गरेको बताए । ‘विश्वभरिबाट तामाङ सम्बन्धी कला, भेषभूषा, धर्म, संस्कृति, भाषा आदि खोज्न आउने बेलामा सबैले पाउने गरी संग्रालयमा संग्रहित गर्न पहल आवश्यक भएकाले प्रक्रिया अगाडि बढाएका हौंँ ।” उनले भने, ‘करिब २७ देशमा तामाङ समुदायको बसोबास रहेको भन्ने छ, जहाँ तामाङ समुदायको बसोबास छ, त्यहाँका तामाङजातिको सबैखाले कला, संस्कृतिलाई समेत केन्द्रिकृत गर्नेगरी अन्तर्राष्ट्रिय तामाङ संग्रालय निर्माण गर्ने अभियानमा जुटेका हौँ ।”

विगत चार वर्ष अगाडिदेखि नै तेमाल गाउँपालिका–७ स्थित सिङ्दानडाँडालाई छनोट गरी तामाङ संग्रालय स्थापना गर्नको लागि प्रक्रिया प्रारम्भ गरिसकेको अवस्थामा अझ त्यसलाई वृहत बनाउन लागिएको गाउँपालिका उपाध्यक्ष थोकरले बताए ।

यस अघि थालिएको अभियान अन्तर्गत सग्राहलय निर्माणका लागि प्रारम्भिक चरणमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट तत्कालीन सांसद गङ्गाबहादुर तामाङ (बमध्वज)ले एक करोड लागतमा तीन तले प्रशासनिक भवन निर्माण भइसकेको छ ।

छलफलको क्रममा गाउँपालिकाले गर्नुपर्ने जग्गा प्राप्तिदेखि गुरुयोजना तयार गर्ने र अन्य सहयोगको लागि विभिन्न सङ्घ संस्थासँग आवश्यक सहयोगको आग्रह गर्ने गरी सुझाव दिएको छ ।

त्यसको लागि थप प्रक्रिया अगाडि बढाउनका लागि ल्होछारको अवसरमा कार्याशाला आयोजना गर्न लागिएको र कार्याशालकाे लागि आवश्यक कार्यपत्र तयारीको लागि डा. मुक्तसिं थोकरलाई जिम्मा दिएको उनले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।