बौद्ध– ताम्सालिङ संयुक्त सङ्घर्ष समितिका अध्यक्ष डा. गणेश योञ्जनले ‘ताम्सालिङ’ प्राप्तिको आन्दोलन सफल बनाउने अठोट व्यक्त गरेका छन् । ताम्सालिङ संयुक्त सङ्घर्ष समिति नेपाल, केन्द्रिय समितिको आयोजना तथा नेपाल तामाङ घुदङको समन्वयमा सोमबार काठमाडौंमा भएको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा डा. योञ्जनले यस्तो बताएका हुन् ।

आन्दोलनको नेतृत्व ताम्सालिङ संयुक्त सङ्घर्ष नेपाल गर्ने बताउँदै योञ्जनले अबको संघर्षबाट ताम्सालिङ प्राप्त गरेरै छाड्ने दावी गरे । ‘लाखौँ तामाङहरू ताम्सालिङ प्राप्तिका लागि सडकमा आउनैपर्छ । यो हाम्रो लागि ऐतिहासिक सङ्घर्ष गर्ने अवसर पनि हो ।’ डा. योञ्जनले भने, ‘ताम्सालिङ प्राप्तिको लक्ष्य पूरा गरेरै छाड्नुपर्छ ।’

ताम्सालिङ प्राप्तिको आन्दोलनमा सबै राजनीतिक दलको तामाङजन्य संघ संगठन, अन्तर्राष्ट्रिय तामाङ परिषद्, नेपाल तामाङ घेदुङ, विभिन्न भाषिक र सांस्कृतिक संघसंस्थालाई गोलबद्ध हुन समेत योञ्जनले आव्हान गरे ।

समितिका अनुसार सत्ता हल्लाउने आन्दोलन अबको आवश्यकता रहेको समितिका सदस्य सचिव मोहन गोलेले बताए । त्यसका लागि लाखौँ तामाङलाई सडकमा ओराल्ने गोलेले जानकारी दिए ।

‘हामी ताम्सालिङ प्राप्तिका लागि सँधै नलड्नेगरी अब लड्नुपर्छ । यसको तयारीमा जुुटौँ । हामीले सदियौँदेखि असह्य उत्पीडन भोग्यौँ ।’ उनले भने, ‘त्यसका लागि सत्ताधारीहरू आत्तिनेगरी लाखौँ तामाङ सडकमा आउनुपर्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।