काठमाडौं- वागमती प्रदेशकाे नाम परिवर्तन गर्नुपर्ने माग राख्दै यही मंसिर ३० गते नेवाः ताम्सालिङ पहिचान सभाकाे आयाेजना गरिएको छ । ताम्सालिङ संयुक्त संघर्ष समिति, नेवा: देय दबू थीथी खल: पुच: र नेपाल तामाङ घेदुङको आयोजनामा नेवा: ताम्सालिङ संयुक्त पहिचान सभा हुन लागेको हो ।

सभाअघि न्यूरोड पिपलबोटमा बिहान साढे ११ बजे भेलाभई र्‍याली निकाल्ने कार्यक्रम रहेको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए ।

धर्म निरपेक्षता, संघीयता, गणतन्त्र र लोकतन्त्रमाथि भइरहेको षड्यन्त्रप्रति खबरदारी गर्दै पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा सहभागिता जनाउन अपिल गरिएको छ ।

पहिचानका आधारमा प्रदेश नामांकन नगरिएको भन्दै त्यसको विरोधमा देशका मध्य क्षेत्रका नेवार र तामाङ समुदाय चरणबद्ध आन्दोलनमा छन् ।

उनीहरुले वाग्मती प्रदेश नामांकन खारेज गरी पुन: नामकरण गर्नुपर्ने, अधिकार र स्वायत्त प्रदेश हुनुपर्नेलगायत माग अघि सारेका छन् । सभा दिउँसो १ बजेबाट सुरु हुने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।