तेमाल–ؘ काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा रहेको स्वास्थ्या शाखाको औषधि भण्डारण कक्षमा आगलागी भएको छ । विहिबार दिउँसो १२ बजेको समयमा औषधि भण्डारण कक्षमा अचानक आगलागी भएको वडा अध्यक्ष हजारसिं लामाले जानकारी दिए ।
आगाली विद्युत सर्ट भएर लागेको हुन सक्ने वडा अध्यक्ष लामाले बताए । उनका अनुसार औषधि भण्डारण कक्षमा आगलागी हुने वित्तिकै वडा कार्यालयको सबै सामाग्रीहरु भने बाहिर निकाल्न सफल भएको छ । सो भवनमा वडा कार्यालय सञ्चालन गर्दै आएको थियो भने गाउँपालिकाको औषधि समेत भण्डारण गर्दै आएको थियो ।
आगलागीबाट सबै औषधि समेत नष्ट भएको स्टोर शाखा प्रमुख अभिशेष तामाङले बताए । के कति क्षति भयो भन्ने विवरण भने अहिले नै एकीन गर्न नसक्ने तामाङले बताए । ‘स्टोर गरेर राखेको सबै औषधि नष्ट भएको छ, क्षतिको विवरण अहिले भन्न सकिने अवस्था छैन ।’ उनले भने, ‘स्वास्थ्य संस्थाहरुमा के कति वितरण गरिएको थियो सबै विवरण हेरेपछि मात्र वास्तविक क्षति विवरण भन्न सकिन्छ । हामी रुजु गर्दै छौं ।’
यसैबीच आगलागी भएको थाहा पाउन साथ गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर, वडा अध्यक्ष हजारसिं लामा लगायतका जनप्रतिनिधि र कर्मचारी घट्नास्थलमा पुगेका थिए । आगलागी भएपछि अस्थायी प्रहरी कार्यालय नारायणस्थानका प्रमुख राजकुमार ठाकुर कमाण्डमा रहेको प्रहरी, स्थानीयबासी, जनप्रतिनिधिहरु, कर्मचारीहरुले आगो नियन्त्रणमा लिने प्रसास गरेको थियो । करिब २ घण्टाको प्रसास पछि मात्र आगो नियन्त्रणमा आएको थियो ।
पौष ४ गते सम्म सेवा बन्द
यसैबीच आगलागीबाट वडा कार्यालय भवन नष्ट भएपछि ५ नं. वडा कार्यालयबाट हुँदै आएको सबै सेवा आगामी पौष ४ गतेसम्म बन्द रहने जनाएको छ । वडा अध्यक्ष हजारसिं लामाले एक सूचना जारी गर्दै सोको जानकारी दिएको हो ।
‘प्रस्तुत विषयमा यस तेमाल गाउँपालिकाको स्वास्थ्य शाखाको औषधी भण्डारण कक्षमा मिति २०८०÷०८÷२८ गतेका दिन आगलागी भई सोही भवनमा रहेको तेमाल गाउँपालिका वडा नं ५ को वडा कार्यालयमा समेत क्षती भएको हुनाले वडा कार्यालयवाट प्रवाह हुने सेवाहरु मिति २०८०÷०९÷०४ गते सम्मका लागि बन्द रहने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराईन्छ ।
नोटः यहाँहरुको असुविधाको लागि वडा कार्यालय परिवार क्षमाप्रार्थी छौं ।’ सूचनमा भनिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















