धुलिखेल– नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा पूर्व राज्यमन्त्री रेशमबहादुर लामाले आफ्नै आमा ८३ वर्षिय डोलकुमारी लामा विरुद्ध मुद्दा दायर गरेका छन् । नमोबुद्ध नगरपालिका वडा नं. १० दाप्चा निवासी ८३ बर्षीया डोलकुमारीले अदालतबाट सूचना जारी भएपछी मात्रै आफ्नै छोराले मुद्दा हालेको थाहा पाएकी थिइन् ।
पूर्व राज्यमन्त्री लामाले आमा डोल कुमारी समेतलाई प्रतिवादी बनाई फिराद दर्ता गरिएको लिखत दर्ता बदर मुद्दामा २०८० कात्तिक २० गते काभ्रेपलाञ्चोक जिल्ला अदालतद्वारा २१ दिने सूचना म्याद जारी भएपछि जानकारी पाएपछि बुझ्न जाँदा आफ्नो सबै घर जग्गा रोक्का रहेको जानकारी पाएका पाएकी थिइन् ।
अदालत जानु अगाडी रेशमले आमाको नाउँमा रहेको घर जग्गाहरु रोक्का राख्न भन्दै २०८० जेठ १० गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । पूर्व मन्त्री लामाले हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय काभ्रेमा दर्ता गराएको निवेदनमा ‘आमाले घरसल्लाहमा नै नगरी मेरो समेत हक लाग्ने घरजग्गा घरमा थाहा नै नदिई विगतमा पनि बेचबिखन गरी सकेको र अरु जग्गा पनि बेचबिखन गर्ने तरखरमा रहेको हुँदा बेचबिखन गर्नबाट रोक्का गरी पाउँ’ भन्ने उल्लेख छ ।
सोही पत्रमा जिल्ला प्रशासन कार्यालय काभ्रेले ‘बेचबिखन गर्न आएका बखत पक्षहरु बोलाइ छलफल गराइ सहमति (पारिवारिक) बमोजिम गर्ने र नमिलेमा वा सहमति नभएमा छलफलका लागि यस कार्यालयमा पठाउनको लागि यस कार्यालयमा पठाउनका लागि मालपोत कार्यालयमा यो निवेदन पठाउने’ तोक लगाएका थिए ।
जिल्ला प्रशासन कार्यालयले सोही दिन नै मालपोत कार्यालय धुलिखेलमा पत्रचार गरेपछि डोलकुमारीको नाममा साविक दाप्चा छत्रेबाँझ गाविस वडा नं २ मा रहेको जग्गा कारोबार गर्न नमिल्ने बनाइएको मात्रै छ, अनलाइन प्रणालीमा रोक्का भएको छैन ।
रेशमले परिवारमा सल्लाह नै नगरीकन अंश समेत दाबी नगरी किन एक्कासी रोक्का गर्नको लागि प्रशासनमा निवेदन दिए, आमा डोलकुमारी र अंशियार दाजुभाइहरु अन्यौलमा परेका छन् ।
रेशमका बुबा ज्ञानबहादुर, आमा डोलकुमारी, छोराहरु कमलबहादुर, देवबहादुर र भक्तबहादुर, छोरी गुणकुमारी र प्रेमकुमारीले जिल्ला प्रशासन कार्यलयमा दर्ता गराउन तयार गरेको निवेदनमा ‘घरायसी व्यवहार परिवारको प्रेमले हामी सुखमय जीवन गुजारा गरी आएका थियौं र सगोलमा रहेका छौ । हाम्रा जग्गा सम्पत्ती हाम्रा आमा बुबाकै नाममा रहेको र कुनै पनि सन्तानले हालसम्म अंशवण्डा गरौं, अंश सम्पति छुट्याई पाउँ वा मेरो आमाले नराम्रो गर्नु होला की भनि हालसम्म कुनै व्यहोरा नदेखाउनु भएकोमा अत्यन्त माया, सद्भाव, विश्वास गरिएको छोरा रेशमबहादुर लामाले समेत कहिले कतै पनि अंशको बिषयमा कुरा उठाएको वा माग गरेको परिवारको सदस्यहरु, नातागोताहरुमा कसैलाई थाहा जानकारी छैन ।’ भनि उल्लेख छ । निवेदनमा रेशम लामाको लामो समय देखिको व्यक्तिगत, सामाजिक र राजनीतिक कारण तथा व्यवहारले उनीहरुको इज्जत प्रतिष्ठामा नै आघात हुने गरी घर सल्लाह बेगर जानकारी नदिइ अनेकन बाहना बनाएर निवेदन पेश गर्दैमा रोक्का हुन सक्ने कानूनी आधार र कारण नभएको भन्दै रेशमले मागेको बखत घर सल्लाहमा कानून बमोजिम पाउनुपर्ने अंश लिनेदिने हुँदा उनले दिएको निवेदन खारेज गरी घरजग्गा फुकुवा गर्न रेशमका बाबु, आमा, दाजुभाइ र दिदिबहिनीले निवेदन तयार गरेपनि प्रशासनले दर्ता नै गरेको छैन ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नमोबुद्ध १० का रेशमबहादुर लामाले प्रशासनमा निवेदन दिएपछि प्रशासनले सक्कल नै निवेदन पठाएर के भएको बुझ्न लगाएको तर जग्गा रोक्का गर्न नभनेको बताए । ‘जग्गा रोक्का राख्न हामीले भनेका छैनौं, के भएको हो बुझ्न भनिएको हो, छलफल गराउने भनिएको छ, कानूनले दिएका अधिकार अनुसार नै काम अघि बढ्छ ।’ उनले भनिन्, ‘अर्को पक्ष (आमाहरु) पनि आउनुभएको थियो, हाम्रो क्षेत्राधिकार नभएकोले मालपोतमा नै बुझ्न भनेका हौं, उहाँहरूको निवेदनका बरेमा पनि छलफल गर्छौं ।’
मालपोत कार्यालय काभ्रेका प्रमुख दिपक कोइरालाले प्रशासन वा अन्य कुनै निकायको पत्रकै आधारमा जग्गा रोक्का नहुने र नभएको बताए । ‘अदालतको आदेश वा कर्जा लिएको हकमा वित्तिय संस्थाको पत्रको आधारमा मात्रै जग्गा रोक्का हुन्छ, अन्यथा हुँदैन,’ उनले भने, ‘पद, शक्तिका कारण रोक्का हुने भन्ने हैन, छलफलका लागि बोलाउने भनेर अर्को पक्ष नआउञ्जेल कारोबार नभएको हो ।’ मालपोत कार्यलयले प्रयोग गर्ने अनलाइन सफ्टवेयरमा जग्गा रोक्का देखिएको छैन ।
आमा डोलकुमारीले नेताको धम्कीका आधारमा व्यक्तिको जग्गा रोक्का गर्न मिल्छ त भनेर प्रतिप्रश्न गरिन् । ‘मैले जन्म दिएर देशमा नै बोल्न सक्ने नेता भएको छ, खान लाउन नपुग्ने पनि छैन, अशक्त पनि छैन, अंश मागेको पनि छैन,’ आमाले आक्रोश पोखिन्, ‘मलाई नुनको ढिको पनि नदिने, अनि मैले अंश दिएन भनेर मुद्दा गर्न मिल्छ त ?’
छोरा रेशम लामाले आमाले विदेशी नागरिकलाई आफ्नो घर समेत रहेको जग्गा विक्री गरेकाले पैतृक सम्पति जोगाउन मुद्दा दर्ता गरेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















