मण्डनदेउपुर- काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट र पौष्टिक आहार सहित सम्मान गरेको छ । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बुधवार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेकाे हाे ।

ज्येष्ठ नागरिकहरुलाई नगरप्रमुख टोक बहादुर वाईबा र उपप्रमुख विष्णुमणी नेपालले ब्याङ्केट र पौष्टिक आहार सहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियाे ।

नगरपालिकाभित्रको १ देखि १२ नम्बर वडासम्मका ९५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वाईबाले राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकको उल्लेखनिय योगदान रहेको बताए । ‘हाम्रो नगरपालिकासँगै राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकको ठूलो योगदान छ । उहाँहरुलाई हामीले बिर्सनु हुँदैन ।’ उनले भने, ‘घर परिवार र समाजका हरेक ब्यक्ति ज्येष्ठ नागरिकको उच्च सम्मान गर्नुपर्छ ।’

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कार्यक्रममा सहभागि ज्येष्ठ नागरिकको सुगर र प्रेसर जाँच गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।