काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशन गर्ने मिति तय गरेको हो ।
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टीको उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पेस गरेका छन् । पूरक प्रस्तावमा पार्टीको नाम परिवर्तन गर्नुपर्ने भनिएको छ । पार्टीको नयाँ नाम नेकपा (समाजवादी) प्रस्ताव गरिएको छ ।
त्यसैगरी पार्टीको संगठनमा पनि परिवर्तन गर्न आवश्यक रहेको जिकिर गरिएको छ । प्रस्तावमा भनिएको छ, ‘संगठन परम्परागत नभई आजको समस्याहरुको सम्बोधन गर्दै जनतासँग जोडिने खालका संगठनात्मक संरचनाहरू बनाउनु पर्दछ । मुख्य गरी वैचारिक राजनीतिक काम र संगठन सुदृढीकरण, आर्थिक उत्पादन र रोजगारी सँग सम्बन्धित काम र विकास निर्माण सरकार सम्बद्ध काम र सामाजिक सांस्कृतिक रूपान्तरण र सामाजिक न्याय स्थापना, अनुगमन र मूल्यांकन को कार्याधिकार र कार्य विभाजन गर्ने नीति विधानमा स्पष्ट हुनु पर्ने, मुख्य गरी स्थानीय कमिटीहरूको लागि ।‘
अधिवेशनमा करिब १३ सय प्रतिनिधि सहभागी हुनेछन् । यसमा केन्द्रीय सदस्य, ज्येष्ठ मञ्च, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार, ७७ जिल्लाका संयोजकहरू, जनवर्गीय संगठनका केन्द्रका प्रमुखहरू सहभागी हुनेछन् ।
यसअघि स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको ७ सदस्यीय टोलीले विधानको मस्यौदा बुझाएको थियो । सो मस्यौदा तल्लो तहका कमिटीहरूमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ । यस्तै पार्टीको सात वटै प्रदेशबाट पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















