धुलिखेल– जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दिपककुमार गौतमले शिक्षा विकास तथा समन्वय ईकाई, काभ्रेका प्रमुख चेतकुमार पोखरेललाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । प्रमुख गौतमको सचिवालयको हवाला दिंदै एक प्रेस विज्ञप्ति मार्फत कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।

गौतमले इकाई प्रमुख पोखरेललाई १२ घण्टा भित्र काभ्रे छाड्न समेत चेतावनी दिएका छन् । ‘निजलाई १२ घण्टा भित्र मन्त्रालय तानेर कारबाही प्रक्रिया अगाडी बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको छ, तोकिएको समयसीमा भित्र मन्त्रालयबाट निजलाई काभ्रेपलाञ्चोक जिल्लाबाट नतानेको खण्डमा भोली मिति २०८०।१०।०४ गते कार्यालय प्रवेशमा रोक लगाउने र थप कारबाहीका लागि अगाडी बढ्ने व्यहोरा अवगत गराउँदछु ।’ विज्ञप्तिमा भनिएको छ ।

‘जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतम र शिक्षा विकास तथा समन्वय ईकाई, काभ्रेपलाञ्चोकका प्रमुख चेत कुमार पोखरेल बिच शैक्षिक सुधारका बिषयमा मतभेद र विवाद भएको र सो क्रममा ईकाई प्रमुख चेत कुमार पोखरेलले समन्वय समिति प्रमुख दिपक कुमार गौतममाथि अमर्यादित शब्द समेत प्रयोग गरी दुव्र्यवहार गरेका छन् ।’ विज्ञप्तिमा भनिएको छ, ‘निज चेत कुमार पोखरेलले शिक्षक र विद्यालयका समस्यालाई गम्भीर रुपमा नलिने, सामान्य कामलाई पनि पटकपटक बोलाई दुःख दिने, कार्यालयमा नबस्ने गरेको पाईएकाले निजको कार्यसम्पादनको बिषयलाई लिएर निजलाई १२ घण्टा भित्र मन्त्रालय तानेर कारबाही प्रक्रिया अगाडी बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको छ, तोकिएको समयसीमा भित्र मन्त्रालयबाट निजलाई काभ्रेपलाञ्चोक जिल्लाबाट नतानेको खण्डमा भोली मिति २०८०।१०।०४ गते कार्यालय प्रवेशमा रोक लगाउने र थप कारबाहीका लागि अगाडी बढ्ने व्यहोरा अवगत गराउँदछु ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।