काठमाडौँ- सुनकोशी–३ जलविद्युत आयोजनालाई अगाडि नबढाउन विभिन्न संघ संस्थाले आग्रह गरेको छ । राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियानको तर्फबाट माझी राष्ट्रिय परिषद्, डोने राष्ट्रिय परिषद् र मझेसेवा सिन्धुपाल्चोकले संयुक्त रूपमा विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।

६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत आयोजनाले सर्वेक्षण अनुमति पाउनुको साथै आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजातको तयारी भइरहेको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । सो आयोजनाले तीन हजार घरधुरी परिवार विस्थापित हुने दाबी गर्दै ती संस्थाहरूले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका ५–५ वटा गाउँपालिका, रामेछाप जिल्लाको दुई गाँउपालिका र सिन्धुली जिल्लाको एक गाँउपालिका प्रत्यक्ष रूपमा प्रभावित हुने दाबी गरेका छन्।

परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा विभिन्न सन्धि, महासम्धीहरूले सुनिश्चित गरेको आदिवासीको अधिकारलाई प्रत्याभूत गर्न चुकेको दाबी उनीहरूले गरेका छन् । आदिवासी जनताहरूको भूमि, भूक्षेत्र तथा श्रोतहरूमा रहेको आत्मनिर्णयको अधिकारलाई अस्वीकार गर्दै लुभुघाटदेखि सिपाघाट सम्मको ४५ किलोमिटर बाँध निर्माण गर्ने लागेको हो । यसले त्यहाँ बसोबास गर्दै आएका तामाङ, माझी, डोने, दनुवार लगायतका समुदाय प्रत्यक्ष रूपमा प्रभावित हुने विज्ञप्तिमा उल्लेख छ । सबै प्रकृया पुरा नगरी आयोजनालाई अगाडि बढाए त्यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।