महाभारत– भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत विद्यालय भवन निर्माण सुरु गरिएका काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा निर्माणाधीन विद्यालय भवनको काम अलपत्र परेको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा डिआरएसपी–३ अन्तर्गत पुनर्निर्माण सुरु गरिएका काभ्रेपलाञ्चोकका तीन वटा विद्यालयको भवन निर्माणको काम अलपत्र परेको हो ।
डिआरएसपी–३ अन्तर्गत महाभारत गाउँपालिका वडा नम्बर १ को गोकुल मावि, वडा नम्बर २ कुपिन्टारस्थित कालीदेवी मावि र वडा नम्बर ८ घर्तीछापस्थित जनकल्याण माविको भवन पुनर्निर्माण सुरु गरिएको थियो । महाभारत गाउँपालिकामा रहेका तीन वटा विद्यालय भवन पुनर्निर्माणका लागि २०७८ साल कात्तिक ५ गते केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपियुआई) र टिडिआई–आशिष निर्माण सेवा जेभीबिच सम्झौता भएको थियो । सम्झौता भएको मितिले डेढ वर्षभित्र विद्यालय भवन निर्माणको काम सम्पन्न गर्ने सहमति भए पनि सम्झौता भएको दुई वर्ष बितिसक्दा हालसम्म कुनै पनि विद्यालयको काम ६० प्रतिशतभन्दा माथि हुन सकेको छैन । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर अशोक अधिकारीले एसियाली विकास बैङ्कको ऋण सहयोगमा डिआरएसपी–३ अन्तर्गत पुनर्निर्माण सुरु गरिएका विद्यालयको काममा ढिलाइ भएको बताए ।
उनले डेढ वर्षमा सक्नुपर्ने काम नसकिएपछि निर्माण व्यवसायीलाई मार्च अन्तिम अर्थात् चैत १८ गतेसम्मको म्याद दिइएको बताए । “निर्माण व्यवसायीलाई मार्च महिनाभित्र काम सम्पन्न गर्ने ताकिता गरेका छौँ, निर्माण व्यवसायीबाट मार्च महिनाभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ, यदि मार्च महिनाभित्र काम सम्पन्न नगरेको खण्डमा कानुनबमोजिम कारबाही गर्ने छौ,” इन्जिनियर अधिकारीले भने । उनले विद्यालय भवन निर्माणको कामलाई लिएर एसियाली विकास बैङ्कले समेत ताकिता गरेको बताउनुभयो । ई. अधिकारीले निर्माण व्यवसायीले हालसम्म गोकुले माविको ६० प्रतिशत, जनकल्याण माविको ५५ प्रतिशत र कालीदेवी माविको ३८ प्रतिशत काम सम्पन्न गरेको प्रतिवेदन बुझाएको बताए । उनले निर्माण व्यवसायीले अन्यन्त्र जिल्लामा लिएको विद्यालय पुनर्निर्माणको काम सकिएकोले अब महाभारतमा निर्माण भइरहेका विद्यालयको काम गर्ने प्रतिबद्धता गरेको बताए ।
गोकुले माविका प्रधानाध्यापक पदमप्रसाद तिमल्सिनाले पछिल्लो एक वर्षदेखि विद्यालय भवनको काम अलपत्र रहेको बताए । उनले विगत एक वर्षदेखि विद्यालय निर्माणको काम नहुँदा विद्यालयका लागि आवश्यक पर्ने खेल मैदानसमेत अभाव भएको बताए । उनले कक्षाकोठा पर्याप्त नहुँदा साना कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको बताए ।
निर्माण व्यवसायी टिडिआई–आशिष निर्माण सेवा जेभीले नौ करोड एक लाख लागत स्टिमेट रहेको गोकुले माविमा पाँच करोड ७६ लाख, नौ करोड आठ लाख लागत स्टिमेट रहेको जनकल्याण माविमा पाँच करोड ७७ लाख र १० करोड ७८ लाख लागत स्टिमेट रहेको कालीदेवी माविमा छ करोड ७८ लाख रुपियाँमा ठेक्का हालेको थियो । निर्माण व्यवसायीले हालसम्म गोकुले माविको कामबापत दुई करोड ४६ लाख, जनकल्याणको कामबापत दुई करोड ४९ लाख र कालीदेवीको कामबापत एक करोड ७२ लाख रकम भुक्तानी लिएको केन्द्रीय आयोजना कार्यान्वय एकाइले जनाएको छ । –गाेरखापत्रबाट साभार
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















