बेथानचाेक- काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा नयाँ मेलमिलापकर्ता तालिम सम्पन्न भएको छ । गाउँपालिकाकाे न्यायिक समितिको आयोजनामा भएकाे साे तालिम फागुन २ देखि ९ गतेसम्म सञ्चालन भएको थियाे ।

तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनाले भाग लिगएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले बताए ।

तालिम समापन कार्यक्रमलाई सम्बाेधन गर्दै उपाध्यक्ष तिमल्सिनाले तालिम लिएसँगै संवादका माध्यमबाट समाधान खोज्न सक्नु पर्ने बताए । तिमल्सिनाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको न्यायिक समितिले विवाद निरुपण गर्ने अधिकार राख्ने मात्र नभई नागरिकमा न्याय घरदैलोसम्म पु¥याई सामाजिक सदभाव कायम गर्ने भएकाले समाजमा विद्यमान समस्याहरुलाई मिलाउने भएकाले मेलमिलापकर्ताहरुले मुद्दा मिलिसकेपछि तुषका खाटा समेत नबस्ने खालको वातावरण सिर्जना हुनेगरी काम गर्नुपर्ने बताए ।

चालु वर्षमा जिल्लाका १३ वटै स्थानीय पालिकामध्ये न्याय सम्पादनमा बेथानचोक पहिलो भएको उनले दावी गरे । उनका अनुसार यस आर्थिक वर्षमा बेथानचाेक गाउँपालिकामा कूल ३६ वटा मुद्दा आएकोमा १० वटा मौखिक मिलान भएका, २६ वटा मुद्दा दर्ता भएका, १० वटा मिलापत्र भएको, ८ वटा निर्णय फैसला भएको, २ वटा डिसमिस भएका, एउटा खारेज भएको, २ वटा मुद्दा फिर्ता भएको र ३ वटा मुद्दा चालु रहेको उनले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्ष एवम् न्यायिक समिति सदस्य कुबेर ढकाल, न्यायिक समिति सदस्य एवं कार्यपालिका सदस्य दिल कुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण शान्तिका लागि सहकार्य संस्था, नेपालले गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।