धुलिखेल– जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले ५ बुँदे सहमति पछि आफ्नो आमरण अनसन तोडेका छन् । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रा.लि.सँग ५ बुँदे सहमति भएको हो ।

निर्माण ब्यवसयीको तर्फबाट प्रोपाईटर राम कुमार थापा र निर्देशक विशाल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् भने सडक डिभिजन कार्यालय भक्तपुरको तर्फबाट डिभिजन प्रमुख भेषराज मरासिनी र इन्जिनियर सुमन बस्नेतले हस्ताक्षर गरेका छन् ।

यी हुन् सहमतिको बुँदाहरु

१. फागुन १५ गतेसम्म कम्तीमा १०० जना जनशक्ति, ४ वटा एक्साभेटर, ७ वटा टिपर लगायत अन्य आवश्यक निर्माण सामग्री साइटमा परिचालन गरि निर्माण कार्यलाई द्रुत गतिमा अगाडी बढाउने ।

२. ३ दिनभित्र इक्यूपमेन्ट उपलब्ध गराई निर्माण कार्य द्रुत गतिमा नगरिए सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने, ठेक्का तोड्न निर्माण ब्यवसायको पनि सहमति रहने, ठेक्का तोडिएपछि निर्माण ब्यवसायी कहि कतै उजुरबाजुरमा नजाने ।

३. निर्माण कार्य शुरु भएपछि आवश्यकता अनुसार चाहिने ईक्युपमेन्टहरु थपेर धुलिखेलदेखि २ किलोमिटर सडक चैत १९ गतेभित्र निर्माण ब्यवसायीले कालोपत्रे गरि सम्पन्न गर्ने, बाँकी निर्माण कार्य त्यसपश्चात तत्काल शुरु गर्ने ।

४. काम सूचारु भएपछि निर्माण कार्यको गति, प्रगति सन्तोषजनक नभएको खण्डमा सडक डिभिजन कार्यालय भक्तपुरले जुनसुकै बेलापनि ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने ।

५. सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण ब्यवसायी गौरी पार्वती निर्माण सेवा प्रा.लि.को बीचमा भएको सहमतिमा सहमत भई आज मिति २०८०÷११÷११ गतेबाट जिल्ला समन्वय समितिका प्रमुखले सुरु गरेको आमरण अनसन अन्त्य गर्ने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।