तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ मा साङछेन नोर्बु ताग्तेनलिङ गुम्बा निर्माण हुने भएको छ । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का सांसद तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले आज एक समारोहका बीच गुम्बाको शिलान्यास गरेसँगै गुम्बा निर्माण हुने भएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले गुम्बा निर्माणको लागि सबै प्रकारको सहयोग गर्न आफू तयार रहेको बताए । आफू जनताको प्रतिनिधि भएको हैसियतले जनताको हरेक समस्यामा एकाकर हुने बताए ।

यसैबीच गाउँपालिका उपाध्यक्ष डिएम लामाले गुम्बा निर्माणको लागि गाउँपालिकाबाट गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याइ नगर्ने बताए । आगामी आर्थिक वर्षमै थप बजेटको व्यवस्थ गर्ने बताए ।

त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष प्रेमबहादुर लामाले गुम्बा सबैको साझा संस्था भएकोले सबैले सहयोग गर्नुपर्ने बताए । वडा अध्यक्ष लामाले गुम्बा निर्माणकालागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउँदै शुरुआतको लागि संघीय सांसद लालध्वजले पहलमा बजेटको व्यवस्था भएकोमा धन्यवाद समेत दिए ।

कार्यक्रममा ठ्रङ्गु फाउन्डेसन ध्यान तथा शिक्षा केन्द्रका अध्यक्ष धर्म गुरु छ्योइजे लामा वाङ्छ्युग तोब्तेन रिम्पोछे, पूर्व वडा अध्यक्ष बिकुलाल मोक्तान लगायतले मन्तव्य राखेका थिए ।

२०६८ सालमा स्थापना भएको सो गुम्बाको लागि वागमती प्रदेश सरकारबाट आर्थिक वर्ष २०८०÷८१ मा रु ८ लाख बजेट विनियोजन गरिएको छ । २ करोड ५० लाख लागत अनुमान गरिएको गुम्बा ब्यबस्थापन समितिका सचिव पासाङ लामाले बताए । ३ वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको लामाले बताए । गुम्बा निर्माणका लागि सबैसँग आर्थिक सहयोगको लागि अनुरोध समेत गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।