बनेपा– समयमै दुधको भुक्तानी नपाएको भन्दै काभ्रेका किसानहरुले अरनिको राजमार्गको बनेपा खण्डमा करिब ४५ मिनेट चक्काजाम गरेका छन् । भुक्तानी नपाउँदा गुणस्तरीय दूध बिक्रिमा समेत समस्या भएको हुँदा अविलम्ब बिक्रि गरिएको दूधको भुक्तानी र दूध बिक्रिमा सहजता बनाउन माग गर्दै उनीहरुले चक्काजाम गरेका हुन् ।
काभ्रे दुग्ध उत्पादक सहकारी संस्थाका अध्इक्ष नारायण बडालका अनुसार कृषकहरुले चरणबद्ध आन्दोलन घोषणा गरे अनुसार सबै राजनीतिक दलसँग आबद्ध किसानहरुको समेत सहभागीतामा आन्दोलन गरेको हो ।
आन्दोलन अघि किसानहरुले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई विभिन्न मागहरु राखेर ज्ञापनपत्र बुझाएसँगै फागुन १०, ११ र १२ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा दुग्ध उत्पादक सहकारी संस्था, डेरी उद्यमी, कृषक तथा राजनीतिक दलका प्रतिनिधिहरुको एक वैठकले आन्दोलनमा सबै सहभागी हुने निर्णय गरेको अध्यक्ष बडालले जानकारी दिए ।
यसैबीच चक्काजाम र धर्ना सँगै फागुन २१ गते माईतीघर मण्डलामा देशभरीका कृषक, दुग्ध उत्पादक सहकारी संस्थाहरुको अगुवाईमा धर्ना तथा विरोधका कार्यक्रमहरु गर्ने र माग पुरा नभए सम्म आन्दोलन जारी रहने उनले बताए ।
सडकमै दूध पकाउँदै खाँदै आन्दोलन
चक्काजाम गर्न सहभागी भएका कृषकहरुले सडकमै दूध पकाएका थिए । सहभागी सबैले दूध खाँदै चक्काजाम गरेका थिए ।
यस अघि दूध पोखाउँदै आन्दोलन गर्दै आएका किसानहरुले यो पटक भने सडकमै दूध पकाउँदै सहभागी सबैले दूध खाएका थिए ।
यसैबीच आन्दोल सकेपछि दूध खाएको गिलास र प्लेकार्ड सडकमै फ्याँकेपछि सडक फोहर भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दुग्ध कृषकहरुको तत्काल भुक्तानी दिन निर्देशन दिए पनि आजसम्म पनि दुग्ध विकास संस्थानले भुक्तानी नदिएको गुनासो उनीहरुको छ ।
आन्दोलनकारीहरुले चक्काजाम कार्यक्रमलाई लम्ब्याउन खोजेपछि प्रहरीले जवर्जस्ती सडक जाम खुलाएको थियो । सो क्रममा प्रहरीको विरुद्ध समेत किसानहरुले नारा लगाएका थिए ।
हेर्नुहाेस भिडियाे
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























