तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ मा रहेको रोशी खोला–सिमलचौतारा गिम्दी सडकमा निर्माण भएको पक्की ढलनको उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकर (डिएम)ले संयुक्त रुपमा आज एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले गिम्दीबासीले सो सडकमा निक्कै कठीनपूर्ण यात्रा गर्नुपर्ने स्मरण गर्दै अब यात्रा सहज हुने बताए । ‘अब जोखिमपूर्ण यात्राको अन्त्य भएको छ । हामी गिम्दीबासीहरुको लागि अब जोखिम न्यूनिकरण भएको छ ।’ अध्यक्ष तामाङले भने, ‘निर्वाचनको क्रममा यहाँका आमाबुबा, दाजुभाईसँग प्रतिबद्धता जनाएको थिएँ । आज पूरा गरेका छौं ।’

यसैबीच गाउँपालिका उपाध्यक्ष दलमान थोकर (डिएम)ले गाउँपालिका स्तरीय गौरवको योजनाको रुपमा छनौट भएको यो सडकको लागि निरन्तर बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । ‘९ वटै वडामा वडा देखि पालिका जोड्ने मुख्य सडकलाई कालपत्रे गर्ने योजना हामीले बनायौं ।’ उनले भने, ‘सोही मुताविक यो सडक खण्डको स्तरोन्नतिको चरणमा हामी छौं । यो सडक निर्माणले निरन्तरता पाउने विश्वास दिलाउन चाहन्छु ।’

सो सडक खण्ड यातायातको लागि निक्कै जोखिमपूर्ण थियो । सो सडक खण्डमा १७९ मिटर पक्की डलान भएको वडा अध्यक्ष हजारसिं लामाले जानकारी दिए । तेमाल गाउँपालिकाले चालु आर्थिक वर्षमा २५ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । सडकमा पक्की ढलान भएपछि स्थानीय खुशी भएका छन् । विपी राजमार्ग देखि तेमाल गाउँपालिकाकाे केन्द्र पोखरी नारायणस्थान जाेडिएको साे सडकबाट करिब ३ सय घरधुरी लाभान्वित भएका छन‍् ।

उपभोक्ता समितिका अध्यक्ष उत्तरसिं लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा ५ नं. वडा अध्यक्ष हजार सिं लामा, प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेल, प्राविधिम शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक, लेखा प्रमुख सूर्यप्रसाद त्रिपाठी लगायत स्थानीयवासीहरुको बाग्लाे सहभागीता थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।