मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन आगामी फागुन २७ गते गर्ने भएको छ । आज नगरपालिकाले एक पत्रकार सम्मेलन गरी नवनिर्मित भवनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने जानकारी दिएको छ ।

वडा नम्बर ३ का वडाध्यक्ष नगर प्रवक्ता पुरुषोत्तम बजागाईका अनुसार नवनिर्मित भवनबाट २०८० साल असोज ३ गते संविधान दिवसको दिनबाट सेवा मात्र सुचारु गरिएको भएपनि नयाँ भवनको औपचारिक गरिएको थिएन ।

पत्रकार सम्मेलनमा नगर प्रमुख टोकबहादुर वाइबाले नवनिर्मित भवनको हालसम्म निर्माणको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९९ प्रतिशत सम्पन्न भएको जानकारी दिए ।

काभ्रे कै नमुना भवन

मण्डनदेउपुर नगरपालिकाको प्रशासकीय भवन जिल्लाकै नमुना एवं आधुनिक भवनको रुपमा रहेको छ । मालपोत फाँट, नागरिकता फाँट लगायका प्रशासनीक कार्यहरुको लागि समेतलाई ख्याल गरेर भवन निर्माण गरिएको नगर प्रमुख वाइबाले बताए ।

नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना ठूला कोठा छन् । दुई वटा हल, प्रत्येक फ्लोरमा अपाङ्गता मैत्री शौचालय, महिला र पुरुषका लागि छुट्टै शौचलय निर्माण गरिएको छ । लिफ्ट जडान गरिएको छ । जसले गर्दा अपाङ्गता भएका व्यतिm र ज्येष्ठ नागरिकलाई सम्बन्धित शाखामै पुगेर सेवा लिन सहज भएको छ । अडिटोरियम हल निर्माणको काम सकिएको छ ।

उद्घाटनको तयारी यसरी हुँदै छ

उद्घाटन कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन नगर प्रमुख टोक बहादुर वाईबाको संयोजकत्वमा नगरकार्यपालिका सदस्यहरु रहेको एक मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

नगरकार्यपालिका सदस्यहरुको संयोजकत्वमा सम्मान कार्यक्रम, पुर्वाधार व्यवस्थापन, प्रचार प्रसार तथा निमन्त्रणा, सवारी साधन व्यवस्थापन, शैक्षिक संस्था तथा स्वास्थ्य व्यवस्थापन, खानेपानी व्यवस्थापन तथा भवन सरसफाई, फोहोरमैला व्यवस्थापन, मञ्च, गेट निर्माण तथा साजसज्जा, सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति गठन गरिएको छ ।

सो दिन नगरपालिकाको विभिन्न स्थानबाट विविध धर्म, संस्कृति झल्कने झाँकी र्याली सहितको सांस्कृतिक कार्यक्रम उनले जानकारी दिए । सो दिन सबै नगरवासीलाई उपस्थितिको लागि निमन्त्रणा पठाएको नगर प्रमुख वाइबाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उपप्रमुख विष्णुमणि नेपाल, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरुको सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।