बनेपा– नेकपा (माओवादी केन्द्र) सम्बद्ध काभ्रे जिल्लाका विभिन्न जनवर्गीय संगठनहरुको संयुक्त आयोजनामा बनेपामा ‘सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनको बलिदान महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शहिद सप्ताहको अवसरमा सोमबार सो अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।
माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेलले सहादत प्राप्त गरेको फागुन १४ गतेदेखि झापा विद्रोहको क्रममा तत्कालीन पञ्चायती शासकले जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर राजबन्दीहरुलाई हत्या गरेको दिनसम्मको अवधि (फागुन १४–२१)लाई माओवादी केन्द्रले सहिद सप्ताहको रुपमा मनाउँदै आएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) केन्द्रीय उपाध्यक्ष एवं पूर्व सभामुख अग्नी प्रसाद सापकोटाले नेपाली कांग्रेसको दम्भ र अहंकारको कारण वर्तमान गठबन्धनमा फेरबदल आएको बताए । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचन, कोशी प्रदेशको सरकार गठनमा धोका दिएको, शान्ति प्रक्रियासँग सम्बन्धित टिआरसी विधेयक सदनमा प्रस्तुत गर्न रोकेको, भ्रष्टाचारमा डुवेको मन्त्रीहरू र असक्षम मन्त्रीलाई हटाउन नचाहेको कारण गठबन्धन तोड्नु परेको स्पष्ट पारे ।
सापकोटाले महान सहिदहरूको सपना पूरा गर्न बैचारिक, राजनीतिक, साँस्कृतिक पुनरगठन गर्दै शक्तिशाली विचार माक्र्सवादलाई समृद्ध पार्दै समाजवाद र महान् साम्यवादको दिशामा लाग्नु पर्नेमा जोड दिए ।
यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश समितिको अध्यक्ष सरल सहयात्रीले सहिदको सपना साकार पार्न सबै तहको पार्टी कमिटीहरूको तहगत नेता कार्यकर्ताहरू आफूले आफैंले पहिचान गरेर अमुर्त पार्टी खोज्ने होइन आफ्नो कर्तव्य, जिम्मेवारी बोध गरि आ–आफ्नो दायित्व पूरा गर्न देश र जनताप्रति इमानदारिताका साथ लाग्नुपर्ने बताए ।
उक्त कार्यक्रमका अतिथिहरूमा संघीय सांसद सूर्यमान दोङ, प्रदेश सांसद रत्न ढकाल र रुकु चौलागाईं, पार्टीको केन्द्रीय सदस्यहरु दिननाथ गौतम, गंगा बहादुर तामाङ (बमध्वज), कृष्ण अधिकारी, तेज बहादुर मिजार, बागमती प्रदेश समितिका सचिवालय सदस्य एवं जिल्ला सह–इञ्चार्जहरु मिम बहादुर वाईवा ज्वाला, रेणुका चौलागाईं, जिल्ला संयोजक भोला प्रसाद अर्याल, बागमती प्रदेस समिति सचिवालय सदस्य एवं जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील), सचिवालय सदस्य मिना पाख्रिन, प्रदेश सदस्यहरु आइत सिं लामा, नारायण बानियाँ दिपेस, होम बहादुर खुलाल, गोपाल घिमिरे, उषा अर्याल र यादव ढंगेल लगायतका नेताहरू रहेका थिए ।
अनेमसंघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष सुन्तली थिङको अध्यक्षता, अखिल (क्रान्तिकारी)को जिल्ला अध्यक्ष विजय लामाको सञ्चालनमा र बुद्धिजीवी संगठनको जिल्ला अध्यक्ष चन्द्रप्रसाद मैनालीले स्वागत मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















