महाभारत– बागमती प्रदेश अन्तर्गत काभ्रे जिल्लाको महाभारत गाउँपालिका, सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिका र मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको हरिवन नगरपालिकाको समन्वयात्मक बैठक सम्पन्न भएको छ । मा समग्र विकास र विद्युती निर्माणमा समन्वय सहकार्य गर्ने सहमति भएको हो । काभ्रेको महाभारत गाउँपालिका देविटारमा बुधबार बसेको सो बैठकले समग्र विकास निर्माणमा समन्वय र सहकार्य गर्ने निर्णय गरेको महाभारत गाउँपािलिकाका प्रवक्ता कान्छामान जिम्वाले जानकारी दिएका छन् ।
बैठकले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिकाको वडा नं. २ अत्रौलीबाट बागमती प्रदेशको सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिकाको केवनचुली– क्यान–भुताहा हुँदै मरिण गाउँपालिकाको बरुण, मथौली, ठुलो गर्दुवा, खलंगा, कात्तिके बाँदरे हुँदै काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाको उद्याउने – बनखु –देविटार–जनमुक्ती मार्ग हुदै वि.पी. राजमार्ग सडक निर्माणको लागि राजमार्गको रुपमा निर्माण गर्न संघीय सरकार र प्रदेश सरकारसंग संयुक्त रुपमा माग गर्ने निर्णय निर्णय समेत गरेको छ ।
त्यस्तै बिद्युत निर्माणका लागि मरिण गाउँपालिकाको वडा नं. २ दोभान, भोक्टेनी, लामीबगर, वडा नं. १ को बाघपैले साथै सोको आसपासको वस्तिमा र हरिहरपुरगढी गाउँपालिकाको वडा नं. १ अन्तर्गतको दुबि गोरन, कोक्टी, सतिघाट, डाबुर, तिनतले साथै सोको आसपासको वस्तिमा बिजुली बत्तिको बिस्तार गर्ने सन्दर्भमा छलफल हुँदा, मरिण गाउँपालिकाको उल्लेखित क्षेत्रमा महाभारत गाउँपालिका काभ्रेको वडा नं. ६ बाट ११ के.भि. बिद्युत लाइन टेपिङ्ग गरी काभ्रे–रामेछाप–सिन्धुली पूर्व बिद्युतिकरण आयोजनाबाट सम्भव भएसम्म बिद्युत लाइन बिस्तार गर्ने साथै अन्य छुटपुट नपुग ठाउँहरुमा लाइन बिस्तार कार्य सिन्धुली र काभ्रे बि.के. ले समन्वय गरी आवश्यकता अनुसार गर्ने निर्णय निर्णय भएको छ ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको अध्यक्षतामा बसेको बैठकमा हरिवन नगरपालिका सर्लाहीका प्रमुख कमल बुढाथोकी(रमेश), हरिहरपुरगढी गाउँपालिका सिन्धुलीका अध्यक्ष बज्रध्वज बाईबा र मरिण गाउँपालिका, सिन्धुलीका अध्यक्ष बिमर्श मोक्तान उपस्थिति रहेको थियो ।
यसैगरी बैठकमा काभ्रे, मकवानपुर, रामेछाप र सिन्धुली ग्रामिण विद्युतीकरण आयोजना प्रमुख खिलनाथ अर्याल, आयोजनाका काभ्रे वितरण केन्द्रका सुरोज पराजुली, सिन्धुली वितरण केन्द्र प्रमुख शिशिर लम्साल, हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, महाभारत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि सिंह विष्ट, महाभारत गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रमेश कुमार लुङ्गेली, मरिण गाउँपालिका प्रवक्ता तथा २ नं. वडा अध्यक्ष कमल आले, हरिहरपुरगढी गाउँपालिकाका इन्जिनियर भिष्मदिव सुनुवार, काभ्रे वितरण केन्द्र प्रमुख अमृत बाबु अधिकारी र हरिपुरगढी गाउँपालिकाका योजना शाखा तथा भूमी सुधार प्रमुख राजु कुमार उप्रेती उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















