बनेपा– ‘समृद्ध काभ्रे निर्माण हाम्रो अभियान, सुदृढ कम्युनिष्ट आन्दोलनका लागि दशौं जिल्ला अधिवेशन’ भन्ने मूल नाराका साथ हुन गइरहेको नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औं अधिवेशनको तयारी पूरा भएको छ । आगामी चैत्र ३ र ४ गते हुने अधिवेशनकोबारेमा आज पार्टी कार्यालय बनेपामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी विचलन विरुद्ध विद्रोह गरेर पार्टी पुनर्गठन गरेको अढाई वर्ष पूरा भएपनि पार्टीको भेला तथा अधिवेशन गर्न ढिलो भएको पार्टी जिल्ला इनचार्ज टोकबहादुर वाइबा र अधिवेशन आयोजक समितिका संयोजक बसुन्धारा हुमागाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
‘यसबीचमा हामीले स्थानीय तहको निर्वाचन तथा आम निर्वाचन जस्ता दुई महत्वपूर्ण कार्यभारमा समय खर्च गर्नुपरेकोले पार्टीको सम्मेलन तथा अधिवेशनहरु जस्ता पार्टीका महत्वपूर्ण कामहरु पछि परेका थिए ।’ विज्ञप्तिमा भनिएको छ, ‘यो जिल्ला अधिवेशनपछि हाम्रो पार्टी काभ्रे जिल्लाका सबै गाउँपालिका तथा नगरपालिका र सबै वडाहरुमा पार्टी संगठन सुदृढीकरण तथा सदस्यता विस्तार जस्ता अभियानहरु लिएर जनताको बीचमा पुग्नेछ ।’
करिब ४ हजार पार्टी सदस्य
एकीकृत समाजवादीको पार्टी संगठीत सदस्य ३ हजार ९ सय ६६ रहेको जिल्ला संयोजक हुमागाईंले जानकारी दिए । ‘यो अधिवेशनसम्म आईपुग्दाका साढे दुई वर्षमा ३९६६ संगठित पार्टी सदस्यहरु विस्तार भएर हाम्रो गौरवशाली पार्टीमा गोलवद्ध भएका छन् ।’ संयोजक हुमागाईंले भने, ‘पार्टीले यस जिल्लाका १३ वटै स्थानीय तहहरुमा गाउँपालिका तथा नगरपालिका कमिटी गठन गरिसकेको छ ।’
जिल्लाका १३५ वटा वडामध्ये १ सय १७ वडाहरुमा पार्टी संगठन पुगिसकेको उनले जानकारी दिए । यसैबीच पार्टीको भातृ संगठनको रुपमा जिल्लामा २२ वटा जनवर्गीय संगठनहरु गठन भइसकेका बताए ।
अधिवेशनमा वडा, नगर, गाउँ तथा जनवर्गीय संगठनहरुबाट संगठित पार्टी सदस्य संख्याको अनुपातमा ४ सय ७६ जना प्रतिनिधीहरु निर्वाचित भइ जिल्ला अधिवेशनमा सहभागी हुने उनको दावी छ ।
अधिवेशनले यी कुराहरुका प्रष्ट पार्ने
पत्रकार सम्मेलनमा संयोजक हुमागाईंले दशौं अधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक अडान, रणनैतिक र कार्यनैतिक प्रश्न, क्रान्तिको कार्यदिशा आदिमा राष्ट्रिय रुपमा टुट्दै गएको कडीलाई जोड्दै पुनः एकपटक एकताबद्ध कम्युनिष्ट शक्तिको निर्माण मार्फत समृद्धि र समाजवादीको बाटोमा अगाडि बढ्न कमसेकम एउटा ईट्टा थप्ने बताए ।
त्यसैगरि अधिवेशनले काभ्रेली समाजमा देखापरेको अन्तरद्वन्द, सामाजिक समस्या र नकारात्मक सामाजिक मनोविज्ञानबारे सघन छलफल र विश्लेषण गरी सामाजिक एकतातर्फ दिशानिर्देश गर्ने काम गर्नुको साथै पार्टी विद्रोह पश्चात गरिएका पार्टी कामको पनि समीक्षा गर्ने बताए ।
वर्तमान राजनीतिक परिस्थितिको ठोस विश्लेषणको आधारमा आगामी कार्ययोजना तय गर्दै नेकपा (एकीकृत समाजवादी)लाई जिल्लाको नेतृत्वदायी कम्युनिष्ट पार्टी बनाउन यो अधिवेशन सार्थक रहनेमा आफूहरु विश्वासत रहेको उनले बताए ।
४० वर्ष मुनिका २० प्रतिशत सहभागी
अधिवेशनबाट निर्माण भएको जिल्ला कमिटी ५५ देखि ६१ सदस्यीय हुने बताए । जिल्ला कमिटीमा ४० वर्षमुनि उमेर समूहका कम्तीमा २० प्रतिशतको संलग्नता सुनिश्चित हुने बताउँदै उनले पार्टीमा युवा नेतृत्व विकासको लागि कोशेढुंगाको काम गर्ने दावी गरे ।
यसैबीच कमिटीमा कम्तिमा ३३ प्रतिशत महिलाको सहभागिता, उत्पीडित दलित समुदाय, अल्पसंख्यक तथा अति सीमान्तकृत समुदाय र अपांगता भएका व्यक्तिको समेत प्रतिनिधित्व सुनिश्चित गरिएको बताए ।
अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल गर्ने आयोजकले जानकारी दिएको छ । उद्घाटन सत्रमा पार्टी महासविच घनश्याम भुषाल विशेष अतिथिको रुपमा सहभागी हुने छ भने कार्यक्रम बनेपा स्थित अरनिको सभाहलमा १२ बजे हुने बताएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















