हेटौंडा– वागमती प्रदेशमा गठनबन्धनकै सरकार बन्ने भएको छ । दलहरुबीचमा ५ बुँदे सहमति भएसँगै माओवादी केन्द्र नेतृत्वका सरकारले निरन्तरता पाउने भएको छ ।
बिहीबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी ५ बुँदे सहमति भएको छ । जसमा बागमती प्रदेश सभाको बाँकी पुरै कार्यकालको लागि सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात् गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने निर्णय गरिएको छ ।
सहमतिमा भनिएको छ, ‘केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय गरियो ।’ यस्तै सरकार सञ्चालनका सन्दर्भमा समीकरणमा आबद्ध दलहरूको प्रतिनिधि रहने प्रदेश स्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसको मार्ग दर्शनमा सरकार अघि बढ्ने सहमति भएको छ ।
बागमतीमा सत्ता जोगाउन नयाँ गठबन्धनले हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाउने तयारी गरेको छ । बज्राचार्यको शपथ बिहीबार साँझ हुने तय भएको छ ।
यी हुन् ५ बुँदे सहमति
सहमति पत्र
नेकपा (एमाले), ने.क.पा. (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी बीच बागमती प्रदेश सरकार गठनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल गरी निम्न निर्णय गरिएको छ ।
निर्णय नं. १ वि.स. २०७९ को प्रदेश सभा निर्वाचनमा प्रदेशवासी जनताले जनप्रतिनिधिको रुपमा पाँच वर्षको लागि निर्वाचित गरेको बागमती प्रदेश सभाको बाँकी पुरै कार्यकालको लागि सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात् गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने निर्णय गरियो ।
निर्णय नं. २ केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय गरियो ।
निर्णय नं. ३ सरकार सञ्चालनका सन्दर्भमा समीकरणमा आवद्ध दलहरुको प्रतिनिधि रहने प्रदेश स्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसको मार्ग दर्शनमा सरकार अघि बढ्ने सहमति गरियो ।
निर्णय नं. ४ प्रदेश सरकार गठनका सन्दर्भमा सहभागी दलहरुको सहमतिको आधारमा मात्र मन्त्रिपरिषद्को संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय गरियो ।
निर्णय नं. ५ प्रदेशको राजनीतिक स्थायित्व, विकास र समृद्धिका पक्षमा प्रदेश सभामा प्रतिनिधित्व गरेका अन्य दललाई पनि यस समीकरणमा सहभागी हुन अनुरोध गर्ने ।
मा. श्री जगन्नाथ थपलिया दल नेता नेकपा (एमाले)
मा. श्री शालिकराम जम्कट्टेल दल नेता एवं मुख्यमन्त्री ने.क.पा. (माओवादी केन्द्र)
मा. डा. श्री राजेन्द्रमान श्रेष्ठ नेकपा. (एकीकृत समाजवादी) एवं मन्त्री
मा. श्री शैलेद्रमान बज्राचार्य दल नेता हाम्रो नेपाली पार्टी
मिति : २०८० साल चैत्र १५ गते, बिहीबार नेपाल सम्वत् ११४४ चिल्लागा तृतीया
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















