तेमाल– प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय रणनीतिक सडकको रुपमा बजेट विनियोजन भइ कार्य भइरहेको काभ्रे जिल्लाको भकुण्डे–तेमाल सडकको अनुगमन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समिति, काभ्रे, सडक डिभिजन कार्यालय, भक्तपुर, नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका र पत्रकारहरुको टोलीले सडकको अनुगमन गरेको हो ।

तत्कालीन प्रतिनिधि सभा सदस्य गंगाबहादुर तामाङले साे सडकलाई निर्वाचन क्षेत्रीय स्तरकाे रणनीतिक सडकको रुपमा अगाड बढएका थिए ।

दुई वर्षमा सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी बीच २०७९ साउन १६ गते सम्झौता भए पनि हालसम्म थोरै मात्र काम भएको छ । विभिन्न सञ्चार माध्यममा सडक डिभिजन कार्यालय र निर्माण कम्पनीको लापारवाहीका कारण काम अघि बढ्न नसकेको भन्दै समाचार प्रकाशन भएको थियो । उक्त सडक स्तरोन्नति गर्ने कार्यको समय सिमा सकिन अब करीब ४ महिना मात्र बाँकी रहँदा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको नेतृत्वमा सडकको अनुगमन गरिएको छ ।

भकुण्डे मेच्छे–मुक्पाटार–तित्रेटार–माम्दी शिर्षक रहेको सो आयोजनाको कार्य के.एस. देवि रमण, तेज जु ललिपुर–१५ लाई टेन्डर परेको थियो । निर्माण कम्पनीले २०७९ साउन १६ गते २० करोड ८९ लाखमा सम्झौता गरी २०८१ साउन १५ गते भित्रमा सक्ने सम्झौता गरेको थियो ।

आयोजना करीब चार महिना बाँकी रहँदा काम नै नभएको भन्ने जनगुनासो र विभिन्न सञ्चार माध्यममा समाचार आएपछि यथार्थ बुझ्न सडकको अनुगमन गरिएको प्रमुख गौतमले जानकारी दिए ।

अनुगमनको क्रममा गौतमले २० महिनामा सडक निर्माण कार्य २२ प्रतिशत मात्र सम्पन्न भएको अनुमान भएको बताए । ‘दुई वर्ष भित्रमा सक्ने भनिएको आयोजना आज २० महिना बित्दा करीब २२ प्रतिशत मात्रै काम भएको देखियो । हामीले स्थलगत अनुगमनमा सबै निकायले हेरौ ।’ प्रमुख गौतमले भने, ‘यो सडकमा ठेकेदार र सडक डिभिजन कार्यालय भक्तपुरको गैरजिम्मेवारीका कारण यो सडक अलपत्र परेको देखियो ।’

नमोबुद्ध नगरपालिका वडा नं. ४ का स्थानियले यस पटक पनि यो ठेक्काबाट काम नहुने देखेको छ । आफूहरुले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा समेत सडक निर्माणको काम त्रिवगतिमा हुन नसकेको उनीहरुको गुनासो छ ।

सो सडक खण्डको १३ किलो मिटर पिच हुने भनिए पनि समय सिमा सकिन ४ महिना मात्र बाँकी रहँदासम्ममा जम्मा २२ प्रतिशत काम भएको देखिएको छ ।

सो क्रममा निर्माण कम्पनीले कार्यतालिका बनाएर काम गर्ने, तोकिएको म्यादभित्र भकुण्डेदेखि पौवासम्मको ६ किलोमिटर सडक पिच गर्ने, निर्माणको क्रममा आइपर्ने समस्या स्थानीय तह र जिल्ला तहबाट समाधान गर्ने समझदारी बनेको जिल्ला समन्वय समिति काभ्रेले जनाएको छ ।

सडक अनुगमनको लागि जिससका उपप्रमुख रिम बहादुर तामाङ, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामा, तेमाल गाउँपालिकाका उपाध्यक्ष डिएम लामा सहित सडक डिभिजन भक्तपुर, निर्माण कम्पनीका प्रमुख, इन्जिनियर, पत्रकारहरु सो सडक खण्डमा पुगेक थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला