तेमाल- काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाकाे सबै वडाहरुमा दाँत र आँखाकाे निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाे छ । नेपाल नेत्रज्योती संघ, किर्तिपुर आँखा अस्पताल, शिर मेमोरियल अस्पताल र जर्मन रोटरी भोलिन्टियर डक्टरको प्राविधिक सहयोग र गाउँपालिकाकाे आयाेजनामा यहीं बैशाख १० गते देखि १८ गतेसम्म सञ्चालन हुने भएकाे हाे ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवहरी पाठकले एक सूचना जारी गर्दै सबै वडामा शिविर सञ्चालन हुने जनाएकाे छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले  शिविरमा सहभागी भएर माैकाको फाइदा उठाउन तेमालवासीलाई अनुराेध गरेका छन् । अध्यक्ष तामाङका अनुसार शिविरमा माेतिया विन्दुको विरामी फेला परेमा गाउँपालिकामै निःशुल्क अप्रेशन हुनेछ ।

कति गते कहाँ हुँदै छ शिविर

निमित्त प्रमुख प्रशासकीय अधिकृत पाठकका अनुसार बैशाख १० गते वडा १ को कार्यालय भवन सस्र्युखकर्मा, ११ गते वडा २ को भवन चुखामा, १२ गते वडा ३ को भवन कुडुवालमा, १३ गते वडा ४ मा रहेको तेमाल मावि बोल्देफेदिचेमा र १४ गते वडा ६ को ठुलो पर्सेल स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ । त्यस्तै, वैशाख १५ गते वडा ७ को चापाखोरी स्वास्थ्य चौकीमा, १६ गते वडा ८ को वडा कार्यालय भवन लोङसालमा, १७ गते वडा ९ मा रहेको स्वास्थ्य इकाईमा र १८ गते वडा ५ को गिम्दी स्वास्थ्य इकाईमा शिविर सञ्चालन हुने पाठकले बताए ।

उनका अनुसार सबैठाउँमा विहान १० वजेदेखि दिउसो ३ वजेसम्म शिविर सञ्चालन हुनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।