बनेपा– काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ६, बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । शुक्रबार बनेपा नगरपालिका र बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयबीच कार्यालय स्थापना गर्नेबारे सम्झौता भए समेत भएको छ ।

आफू मन्त्री हुन साथ बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले तीब्र पहल गरेका थिए । काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर लगायतका जिल्लालाई लक्षित गरेर बनेपामा यातायात कार्यालय स्थापना गर्न लागिएको हो ।

मन्त्रालय र बनेपा नगरपालिका बीच भएको संझौता अनुसार नगरपालिकाले यातायात कार्यालय स्थापना बनेपाको बुडोलस्थित सपिङ कम्प्लेक्सको दुई तला १० वर्षका लागि निशुल्क उपलब्ध गराउनेछ ।

संझौता कार्यक्रममा मन्त्री लम्साल, नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, बनेपा वडा नं ६ का अध्यक्ष सचितानन्द केसीको सहभागीता थियो । सो अवसरमा बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले संझौतामा हस्ताक्षर गरेका छन् ।

कुन कुन सेवा बनेपाबाटै पाउने छ ?

कार्यालयबाट सवारीचालक अनुमति पत्र, नविकरण, सवारी दर्ता, प्रदुषण जाँच, नामसारी, राजस्व लगायतका काम हुने बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले जानकारी दिए ।

मन्त्री लम्सालले मन्त्रालय सेवा विस्तार गर्ने अभियानमा लागेको भन्दै काभ्रे लगायतका आपसासका क्षेत्रका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले यातायात व्यवस्था कार्यालयका सेवालाई डिजिटल बनाउँदै लगेको पनि बताए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला