तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले किसानहरुलाई ट्याक्टर वितरण गरेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकर (डिएम) र ५ नं. वडा अध्यक्ष हजारसिं लामाले संयुक्त रुपमा किसानहरुलाई हाते ट्याक्टर वितरण गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ गाउँसभाले किसानहरुको आवश्यकता मागलाई मध्यनजर गरेर ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार ७० वटा हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि शाखा प्रमुख कुल्दिप पहाडीले जानकारी दिए । ४२ हजार ८ सय रुपैयाँ प्रति मुल्य पर्ने सो ट्याक्टर खरीदमा गाउँपालिकाको तर्फबाट एउटा ट्याक्टरको लागि २१ हजार ४ सय रुपैयाँ र किसानको तर्फबाट २१ हजार ४ सय रुपैयाँ जम्मा गरेको थियो ।
वितरण कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले आफू पनि एक किसानको छोरा भएकोले एउटा किसानले अर्को किसानको पिरमर्का बुझ्दै ट्याक्टर वितरण गरेको बताए । गत वर्षदेखि नै किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण अभियान सञ्चालन गरेको अध्यक्ष तामाङले जानकारी दिए ।
‘हाम्रो तेमाल ८६ प्रतिशत भन्दा बढी कृषिमा आधारित रहेको भूगोल हो । जसको पीरमर्कालाई बुझेर म लगायत हामी सबै जनप्रतिनिधिहरु किसानकै सन्तान हुन् । एउटा किसानले अर्को किसानको पिरमर्कालाई बुझ्दै यो अभियान हामीले शुरु गरेका हौं ।’ उनले भने, ‘गत वर्षदेखि किसानहरुको समस्यालाई मध्यनजर राख्दै गत वर्ष पनि हामीले ट्याक्टर वितरण कार्यक्रम सञ्चालन गरेका थियौ । गत वर्ष किसानहरुबाट सयौं वटा ट्याक्टर माग भयो तर गत वर्ष हामीले ४०÷४५ वटा मात्र हामीले व्यवस्था गर्न सक्यौं । हामी त्यो कुराहरुमा अत्यन्त दुखीत छौं । त्यो समस्यालाई मध्यनजर राख्दै यो पटक अलि फरक ढंगले गत वर्षको समस्यालाई समाधान गर्ने हिसाबले हामीले ट्याक्टर ल्याउनुभन्दा अघि नै डाटा संकलन गर्याौं ।’
ट्याक्टर वितरणको विषयलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गरेको प्रति अध्यक्ष तामाङले दुःख व्यक्त गरे । उनले आफ्नो नातागोता भनेकै १ नं. वडा देखि ९ नं. वडा सम्मका ३१ हजार जनता भएको बताउँदै उनीहरु प्रति कुनै पनि प्रकारको भेदभाव नराखेको र आगामी दिनहरुमा पनि भेदभाव नगर्ने बताए ।
आफू नेपाली काँग्रेसबाट निर्वाचित भएपनि ५ वर्षका लागि पार्टीबाट विदा लिएर आएकोले कुनै भेदभाव आफूबाट नहुनेमा ढुक्का हुन सबैलाई अनुरोध गरे । ‘लोकतान्त्रिक मुलुकमा म एउटा पार्टीबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ । मैले पटक पटक भनेको छु, ‘म नेपाली काँग्रेस पार्टीको रुख चिन्ह बोकेर चुनाव लडेको थिएँ ।’ तर चुनावको परिणाम पस्चात मैले पार्टीबाट ५ वर्षको लागि विदा लिएर आएको छु ।’ अध्यक्ष तामाङले भने, ‘सबै पार्टीमा आबद्ध रहनु भएका एमालेमा रहनु भएको, माओवादीमा रहनु भएका सबै पार्टीमा सदस्य रहनु भएका सबै जनताको प्रतिनिधित्व गर्छु भनेर सपथ खाएको थिएँ । त्यसैले ढुक्का रहनु हुन म सम्पूर्ण किसान दाजुभाइहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।’
यसैबीच सो कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष दलमान थोकर (डिएम)ले ट्याक्टर वितरणले किसानको जीवनमा परिवर्तन हुनुपर्नेमा जोड दिंदै थोरै भएपनि किसानको आर्थिकोपर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले ट्याक्टर वितरण गरेको बताए ।
‘तेमाल गाउँपालिकाले यो भन्दा अघिल्लो आर्थिक वर्षमा पनि ट्याक्टर वितरण गरेको थियो । यो वर्ष पनि हामीले त्यही हिसाबले ट्याक्टर वितरण गर्दैगर्दाखेरी मलाई जहाँसम्म लाग्छ हामीले जुन उद्देश्यका साथ यो ट्याक्टरहरु वितरण गरिरहेका छौं यसले स्वभाविक रुपमा एउटा किसानको जीवनमा परिवर्तन हुनुपर्छ, परिवर्तन ल्याउनुपर्छ, यसले थोरै भएपनि आर्थिकोपर्जनमा थोरै भएपनि योगदान पुर्याउनुपर्छ भन्ने हाम्रो गाउँपालिकाको रहेको छ ।’ उनले भने, ‘तेमालको समग्र उत्पादनका क्षेत्रहरुलाई हामीले आधुनिकीकरणको अवस्थामा लैजानका निम्ति यसले पनि एउटा प्रकारको सानै भएपनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसो हुँदाखेरी कम्तीमा पनि हाम्रो १ नं. वडा देखि ९ नं. वडासम्मका किसान दाजुभाईहरुले यस्तै प्रकारका कहीं ट्याक्टरका कुराहरु होलान् अनेक खालका कृषि सामाग्रीहरु हुन सक्छ, त्यो मात्र नभएर अरु–अरु अनुदानका विषयहरु हुनसक्छ, यी सबै तपाईं किसान दाजुभाईहरुले नै प्राथमिकतामा राखेर हामीले कामहरु अगाडि बढाइरहेका छौं ।’
यसैबीच ५० प्रतिशत लगानी किसानहरुको पनि रहेको बताउँदै उनले ट्याक्टरको संरक्षण गर्ने, यसलाई सही ढंगले उपयोग गर्ने कुराहरुमा अगाडी बढ्न किसानहरुलाई अनुरोध समेत गरे ।
कार्यक्रममा वडा अध्यक्ष हजारसिं लामा, लेखा अधिकृत सूर्य त्रिपाठी, विभागीय कर्मचारीहरु लगायत किसानहरुको सहभागीता थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















