काठमाडौं– बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यन्वयनको औपचारिक घोषणाको लागि बागमती प्रदेश सरकारले आज मुल समारोह समिति गठन गरेको छ । यहि बैशाख १२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद बैठकले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा गर्ने निर्णय गरे अनुसार समारोहलाई व्यवस्थित बनाउन समारोह समिति गठन गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २४ गते बिहान ९ बजे वसन्तपुरमा घोषणा गर्ने कार्यक्रम तय भएको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्यले जानकारी दिए । मन्त्री बज्रचार्यको संयोजकत्वमा ३ सय ३ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।

समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघसंस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकाहरु सदस्य रहेका छन् ।

प्रदेश सरकारले बैशाख २४ गते प्रदशे भर सार्वजानिक विदा दिने र सोही दिन काठमाडौंको बसन्तपुरमा एक समारोह गरी कार्यान्वयनको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो ।

सरकारकोे निर्णय अनुसार बैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा लेखिएका राखिनेछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।