तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा बागमती प्रदेश सरकारले तामाङ भाषा र नेपाल भाषालाई प्रदेशभित्र सरकारी कामकजको भाषाको रूपमा कार्यान्वयनमा ल्याए पछि खुशी साटसाट गरेका छन् । मंगलबार गाउँपालिकाले ‘भाषा दिवस कार्यक्रम’को आयोजना गरि उत्सवकै रुपमा मनाउँदै खुशी साटसाट गरेका हुन् ।
२०८१ साल वैशाख २४ गतेदेखि वागमती प्रदेश सरकारले तामाङ भाषा र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वायनमा ल्याएको छ । गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा स्थानीय म्हानिपा समूहहरु, लामा गुरुहरु, डम्फुरेहरु, महिला समूहरु र बोन्बो समुहहरु, स्थानीयवासी, गाउँपालिकाका कर्मचारीहरुको सहभागीता थियो ।
गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उपाध्यक्ष दलमान थोकर, वडा अध्यक्षहरु चन्द्रबहादुर लामा, प्रेमबहादुर तामाङ, शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागीता थियो ।
अरु भाषालाई पनि सम्मान गरौं –अध्यक्ष तामाङ
गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले हाम्रो भाषालाई सरकारले कामकाजी भाषाको रुपमा मन्यता दियो भनेर अरु भाषा र समुदायलाई थिचोमिचो गर्न नहुने बताएका छन् । तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा वागमती प्रदेश सरकारले गरेको निर्णयले आफूहरुलाई गर्वानुभूति भएको बताए । ‘हाम्रो तामाङ भाषालाई सकारी मान्यता दियो भनेर अरु भाषा र जातिलाई थिचोमिचोमा राख्नु हुँदैन । भेदभाव नगरौं । सबैलाई सम्मान गरौं ।’ उनले भने, ‘तामाङ भाषालाई सरकारी काजकाजको भाषा बनाएकोमा गर्वानुभूति भएको छ । वागमती प्रदेश सरकारलाई धेरै धेरै धन्यवाद ।’
त्यसैगरि विभिन्न राजनीतिक दलमा आबद्ध भएर पहिचानको मुद्दालाई अघि सारेर सडक आन्दोलनमा उत्रेको स्मरण गर्दै अध्यक्ष तामाङले आज नयाँ युगमा प्रवेश भएको महासुस भएको र आज साँच्चिकैको पहिचानको अधिकार पाएको महासुस भएको बताए ।
भाषाको संरक्षण गर्नु तेमाल सरकारको दायित्व– उपाध्यक्ष थोकर
यसेबीच गाउँपालिका उपाध्यक्ष डिएम थोकर (डिएम)ले तामाङ भाषा र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने वागमती प्रदेश सरकारलाई धन्यवाद दिए । उपाध्यक्ष थोकरले भाषाको संरक्षण र सम्बद्र्धन गर्नु तेमाल सरकारको दायित्व रहेको पनि प्रष्ट पारे ।
‘लामो संघर्षपछि भाषाको अधिकार आज प्राप्त भएको छ । भाषा भनेको चानचुने चिज होइन, हामीले संरक्षण गर्नुपर्छ । संवद्र्धन गरेर अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । गाउँपालिकाको दायित्व पनि हो ।’ उनले भने ।
तामाङ भाषालाई वागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाएको सन्देश दिन यो आफूहरुले सो कार्यक्रमको आयोजना गरिएको उनले प्रष्ट पारे ।
कार्यक्रममा डम्फुरे, बाेन्बाे, लामा र म्हानीपा समूहले आ–आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























