बनेपा– नेकपा (एमाले) काभ्रेको ११ औं जिल्ला अधिवेशन आगामी जेष्ठ २८, २९ र ३० गते तोकिएको छ । शुक्रबार सम्पन्न एमाले काभ्रे जिल्ला कमिटीको १० औं पूर्ण बैठकले अधिवेशनको मिति तोकिएको जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिएका छन् ।

अधिबेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने ब्याञ्जुद्वारा प्रेषित प्रेस विज्ञप्तिमा जनाएको छ । अधिवेशनमा जिल्लाका भूगोल, जनसंगठन र विधान बमोजिमका निकायहरुबाट करिव सात सय प्रतिनिधिको सहभागिता रहने छ भने प्रतिनिधिहरुको छनौट २०८१ जेठ १८ र १९ गते गरिने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच अधिवेशन तयारीका लागि पार्टी अध्यक्ष व्याञ्जुको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव ड राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति समेत गठन गरिएको छ । अधिवेशनको लागी मञ्च र खाना ब्यवस्थापनको संयोजन धुलिखेल नगर कमिटीले गर्ने जनाएको छ ।

अधिवेशन भव्य रुपमा सम्पन्न गर्न सबै पंक्तिलाई अपिल समेत गरेको छ । ‘यो जिल्ला अधिबेशन पार्टी जीवनको नियमीत कार्यको अलावा पार्टीले अघि सारेको ‘नमुना काभ्रे, सम्वृद्ध काभ्रेली’को परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने एउटा महत्वपूर्ण अवसर समेत हो । तसर्थ यो जिल्ला अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ती र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटी हार्दिक अपिल गर्दछ ।’ विज्ञिप्तिमा भनिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।