बनेपा– काभ्रे उद्योग वाणिज्य संघको ४२ औं अधिवेशन यहीं जेठ १९ गते हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशन नजिकिदै गर्दा विभिन्न व्यक्तिहरु अध्यक्ष पदको लागि तयारीमा जुटेको देखिन्छ । मतदाताहरुसँग भेटघाटदेखि छलफल र परामर्शमा आकांक्षीहरु लागिरहेका छन् ।

आगामी अधिवेशनको लागि ३ जना उद्योगीहरु अध्यक्षको दौडाहामा देखिन्छ । वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष प्रताप वैद्य, उपाध्यक्ष राजन मानन्धर र ४१ औं अधिवेशनका पराजित अध्यक्ष उम्मेदवार बसन्त भोछीभोयाले अध्यक्षको दौड तय गरेको देखिन्छ ।

३ जनाको चर्चा चले पनि बरिष्ठ उपाध्यक्ष प्रताप बैधले भने उमेदवारी नै घोषणा गरिसकेका छन् । काभ्रेमा सफल व्यवसायी, इमान्दार र युवा व्यवसायीको रुपमा चिरपरिचत वैद्य ४२ औं अधिवेशनको लागि उपयुक्त पात्रको रुपमा हेर्न थालिएको छ ।

सबैले रुचाएका उनी सहमतिकै आधारमा दुई पटक बरिष्ठ उपाध्यक्ष बनिसकेका छन् । दुई–दुई पटक सफलता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका वैद्यलाई फेरि पनि सहमतिकै आधारमा अध्यक्ष चयन हुनुपर्नेमा व्यवसायीहरु उभिएको बुझिएको छ । यद्यपि केही व्यक्तिहरुले पनि अध्यक्ष पदको दावी गरेपछि निर्विरोध भने नहुने पक्का देखिन्छ ।

यस अघि सबैले जे पदमा बस्न आग्रह गरेको थियो त्यही पदमा आफू बसेकोले यो पटक सहमति मै आफू अध्यक्ष हुनुपर्ने उनको दावी छ । सहमति हुँदा हुँदै पनि यो पटक आफुलाई अध्यक्ष पदमा सहमति गर्न केही व्यक्ति लागिरहेकोमा भने दुःख लागेको उनको भनाई छ । ‘यसअघिका अधिवेशनहरुमा सहमतिका आधारमा जुन जुन पदमा बस्न भनियो त्यही पदमा रहेर मैले जिम्मेवारी पुरा गर्दै आएको छु ।’ –बैद्यले भने, ‘४१ औं अधिवेशनमा पनि मैले राजेन्द्र पचसे र बसन्त नारायण भोछिभोयालाई मार्गप्रसस्त गरिदिए । राजेन्द्र र बसन्त बीचको प्रतिस्पर्धामा जित राजेन्द्रले हात पारे । यो पटक भने काभ्रे उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि मैले उम्मेदवारी घोषणा गरेको छ । मेरो उमेदवारी घोषणा गरे संगै उद्योगी ब्यापारीहरु खुशी नै देखिएको छ ।’

उद्योग वाणिज्य संघमा मात्र होइन वैद्यले विभिन्न संघसंस्थाहरुको समेत सफलता पूर्वक नेतृत्व प्रदान गर्दै आएका छन् । उनको कुशल नेतृत्व गर्ने क्षमता देखिएकोले यो पटक काभ्रे उद्योग बाणिज्य संघ पनि राम्रै सँग हाँक्न सक्ने आम उद्योगी ब्यापारीहरुको विस्वास गरेको देखिन्छ ।

जिल्लामा रहेका व्यापारी तथा उद्यमीहरुलाई के कसरी सहज रुपमा व्यापार व्यवसाय गर्ने, सहज र रुपमा बैंकीङ कारोबार उपलब्ध गराउन भुमिका निर्वाह गर्ने, नयाँ उद्योग काभ्रेमा भित्र्याउने, चलेका उद्योगलाई कसरी टिकाउने, साना उद्योगीलाई प्रोत्साहन गर्नका लागि काभ्रे उद्योग वाणिज्य संघले अभिभावकको भुमिका निर्वाह गर्न सक्ने पात्रको रुपमा बैद्यलाई लिन थालेको छ । सामुहिक रुपमा टिम वर्क मार्फत काभ्रेका उद्योगी व्यवसायीको हक अधिकार स्थापित गराउन योजना बनाएर अघि बढ्ने उनको सोच रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।