महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. १ मा रहेको श्री भैरव माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक खुबनाथ दुलालले ९ महिना वितिसक्दा पनि बरबुझारथ गर्न मानेका छैनन् । विद्यालय व्यवस्थापन समितिको मिति २०८० साल भदौ २४ गतेको बैठकले दुलाललाई प्रधानाध्यापकबाट हटाइ अर्का शिक्षक पूर्णदास श्रेष्ठलाई प्रधानाध्यापक बनाएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ङेमासाङ योञ्जनले बरबुझारथ बुझाउन २ पटक पत्र दिँदा समेत शिक्षक दुलालले बुझाउन नमानेको बताएको छ । ‘बरबुझारथ गर्न २ पटक पत्र नै लेखें तर उहाँले बुझाउन मान्नुभएन ।’ विव्यस अध्यक्ष योञ्जनले भने, ‘उहाँले बरबुझारथ गर्न नमानेपछि मैले गाउँपालिकाको शिक्षा शाखा र न्यायिक समितिमा समेत सहजीकरण गर्न निवेदन दिएको छु ।’
दुलाललाई २ पटक पत्र दिँदा पनि बरबुझारथ गर्न नमानेपछि २०८० साल माघ १० गतेका दिन गाउँपालिका शिक्षा शाखा र न्यायिक समितिमा आवश्यक सहयोग गर्न निवेदन दिएको थियो । पत्रमा मिति २०८०/५/२४ गतेको एक बृहत अभिभावक भेला बसी विद्यालय व्यवस्थापन समितिले दुलाललाई हटाईको र विव्यसले पटक पटक निर्णय गरी बरबुझारथ गर्न लिखित या मौखिक ताकेता गर्दा पनि आनाकानी गर्ने गरेको जसको कारण यस विद्यालयको दैनिक प्रशासनिक, पठनपाठन र प्रयोगात्मक कार्य लगायत सम्पूर्ण क्रियाकलापमा समेत प्रभाव परेको उल्लेख गरेको छ ।
बरबुझारथ नगरेपछि आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण समेत नभएको र जसको कारण देखाइ महाभारत गाउँपाललिकाले शिक्षक कर्मचारीको तलबभत्ता समेत रोकेको विव्यस अध्यक्ष योञ्जनले जानकारी दिएको छ ।
दुलाल सर २७ दिन गायब
शिक्षक दुलाल २७ दिनसम्म विना सूचना विद्यालयमा हाजिरी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योञ्जनले जानकारी दिएको छ । उनको हाजिरी विवरणमा वैशाख महिनामा साँढे १ दिन मात्र हाजिर देखिन्छ भने जेठ महिनाको ९ गतेबाट हाजिर गर्न शुरु गरेको देखिन्छ ।
गाउँपालिका मौन
शिक्षक दुलालले बरबुझारथ गर्न नमाने पछि विद्यालयले दिएको निवेदनलाई गाउँपालिकाले वेवास्त गरेको छ । २७ दिनसम्म विद्यालयमा कुनै जानकारी विना नै नुपस्थित भए पनि शिक्षा शाखाले कुनै पनि कदम अघि नबढाएको गुनासो विव्यस अध्यक्ष योञ्जनको छ ।
विद्यालय जस्तो संवेदनशील क्षेत्रमा शिक्षकले यस्तो गरेपछि अभिभावकहरु आक्रोशित छन् ।
यस अघि विद्यालयमा शिक्षक नियुक्ति नगरेकोले दुलाल प्रधानाध्यापक हुँदाको समयमा नै विद्यार्थीले एक हप्तासम्म विद्यालयमा ताला लगाएको थियो । यस विषयमा शिक्षक दुलालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
चावी अझै दुलालसँगै
नयाँ प्रधानाध्यापक नियुक्ति भएको १० महिना वितिसक्दा पनि प्रधानाध्यापकको कार्यकक्ष र पुस्तकालयको चावी भने शिक्षक दुलालले नदिएको जनाएको छ । विव्यस अध्यक्ष योञ्जनका अनुसार प्रधानाध्यापकको कार्यकक्षको चावी नबुझाउँदा दैनिक प्रशासनीक कार्य र शिक्षण शिकाइ प्रक्रियामा समेत असर पुगेको छ ।
कृषि प्राविधिक धार समेत सञ्चालन भएको सो विद्यालयमा दुलालले त्यस्तो हर्कत देखाएपछि प्रयोगात्मक कार्य समेत अबरद्ध हुन पुगेको विद्यार्थीहरुले बताएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























