महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. १ मा रहेको गोकुले माविमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ । कक्षा ११ को परिक्षा दिन हिँडेको उनको बाटोमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा महाभारत गाउँपालिका–२ स्याप्लेडाँडाका ३२ वर्षीय अपिल ब्लोन रहेका छन् ।
बिहिबार दिउँसो घरबाट परिक्षा दिन विद्यालय जाने क्रम अम्बलबास र बेसिटोलको विचमा रहेको जंगलमा ब्लोनको मृत्यु भएको स्थानीय ग्यामसाङ स्याङतानले बताएका छन् । उनका अनुसार बिहिबार दिउँसो दुई जना विद्यालयमा बाटोमा जाँदै गर्दा ‘म विस्तरै आउँछु, अगाडी गएर पसलमा खाजा बनाएर राख्नु’ भनेपछि उनलाई साथीले छोडेर हिंडेका थिए ।
मृतक ब्लोनलाई अम्मलबासको ठाकुर थान पुजाबाट फर्केका स्थानीयले बाटोमा लडिरहेको अवस्थामा देखेपछि गाउँलेहरुलाई र प्रहरीलाई खबर गरेको थियो । उनको नासा सम्बन्धी रोग रहेको र घाँटीको अप्रेशन गरेको थियो ।
यसैबीच ब्लोनको मृत्यु प्रति गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले दुःख व्यक्त गरेका छन् । विद्यालयले भने आज (शुक्रबार) शोक विदा दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























