खानीखोला– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खानीखोला गाउँपालिका गाउँपालिकाको केन्द्र ताल्ढुंगामा पुगेर विभिन्न प्रतिबद्धता जाहेर गरेका छन् । जनमुक्ति मार्ग (ताल्ढुंगा सिक्रेदोभान झुरझुरे सडक खण्ड), खानीखोला गाउँपालिकाको प्रशासकीय भवन र स्थानीय उत्पादन खरिद बिक्री केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्रीले प्रतिबद्धता जाहेर गरेका हुन् ।

दश वर्षे जनयुद्धमा निर्माण भएको जनमुक्ति सेनाको इतिहाससँग जोडिएको जनमुक्ति मार्ग कुनै पनि हालतमा पूरा गर्ने प्रतिबद्धता देखि खोपासी तालढुंग सडख खण्ड समेत निर्माण सम्पन्न गर्ने बताए ।

जनमुक्ति मार्ग कुनै पनि हालतमा सम्पन्न गर्ने

कार्यक्रमलाई समबोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले जनमुक्ति मार्गको काम प्रदेश सरकारले कुनै पनि हालतमा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । माओवादीले सञ्चालन गरेको जनयुद्धको क्रममा निर्माण भएको जनमुक्ति सेनाको सम्मान स्वरुप निर्माण हुन लागेकोले पनि यो योजना आफ्नो प्राथमिकतामा रहेको बताए । ‘यो हिजोको महान् जनयुद्धसँग जोडिएको मार्ग हो, काभ्रेका दक्षिणी पहाडी भेगलाई विकाससँग जोड्नका लागि यो मार्गले टेवा पुर्याउँछ ।” उनले भने, ‘जनमुक्ति सेनाको आधार क्षेत्रसँग जोडिएको मार्ग भएकाले यो मार्ग निर्माण कार्यले जनमुक्ति सेनाको सम्मान गरेको छ ।”

ताल्ढुंगा खोपासी सडक सम्पन्न गर्ने

लामो समय अघि शुरुवात भएको बहुचर्चित र बहुप्रतिक्षित सडक खोपासी तालढुंगा सडक पनि निर्माण कार्य सम्पन्न गर्ने मुख्यमन्त्री जम्कट्टेल प्रतिबद्धता जनाए ।संघीय सरकारको मुख ताक्दा सडक निर्माण हुन नसकेको बताउँदै उनले यो सडक अब प्रदेश सरकारले नै बनाउने उनको प्रतिबद्धता थियो । ‘यो सडक नबन्न मेरो मन खिन्न भएको छ, यहाँको विकासका लागि खोपासी ताल्ढुंगा सडक बन्नैपर्ने सडक हो ।’ उनले भने, ‘यो सडक संघले बनाउँछ जस्तो लागेको छैन, अब यो सडक प्रदेश सरकारले बनाउँछ म यो प्रतिबद्धता व्यक्त गर्दछु ।’

खानीखोला करिडोर निर्माणमा प्रदेश सरकारको पूर्ण साथमा

त्यसैगरि खानीखोला करिडोर निर्माणमा प्रदेश सरकारको पूर्ण साथ रहने उनले प्रतिबद्धता जाहेर गरे । ‘खानीखोला करिडोर पनि बनाउने नै हो, आउने बजेटमा पनि यो कार्यक्रम समावेश हुन्छ ।’ – मुख्यमन्त्री जमकट्टेलले भने ।

ताल्ढुंगा अब बागमती प्रदेशको उदीयमान सहर निर्माण

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमकट्टेलले ताल्ढुंगा अब बागमती प्रदेशको उदीयमान सहरको रुपमा विकास गर्ने बताए । प्रदेश सरकारले प्रदेशभित्रका ग्रामीण क्षेत्रलाई सहरको रुपमा विकास गर्ने प्रयत्न गरिरहेको बताउँदै यो कार्यक्रमलाई कुनै पनि हालतमा सफल पार्ने प्रतिबद्धता जनाए ।

स्थानीय उत्पादनमा खानीखोला प्राथमिकतामा

मुख्यमन्त्री जमकट्टेलले खानीखोला गाउँपालिकालाई ‘स्थानीय उत्पादन’ केन्द्र निर्माण गर्नेमा जोड दिए । स्थानीय उत्पादनलाई प्रोत्साहन दिन र कृषिलाई व्यवसायीकरण गर्न स्थानीय खरिद बिक्री केन्द्र स्थापना गरेर खानीखोलाले एउटा नयाँ सन्देश दिएको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।